काठमाडौँ, ६ माघ – नेपालका लागि भारतीय राजदूत रन्जित रे र यातायातमन्त्री रमेश लेखक आज हुलाकी सडकखण्डको उद्घाटन गर्ने कार्यक्रमका लागि कैलालीको धनगढी पुगेका थिए ।
त्यहाँ राजदूत रे को सुरक्षाको लागि भन्दै कडा सुरक्षा व्यवस्था मिलाईएको थियो । तर, त्यही कडा सुरक्षा घेरालाई नै
चुनौती दिँदै एमालेका स्थानीय युवाहरुले राजदूत रन्जित रेलाई कालो झण्डा मात्रै देखाएनन घाँटीमा कालो माला नै लगाईदिएका छन् । उक्त घटनापछि केही बेर प्रहरी र युवाहरुबीच ठूलो घम्साघम्सी नै चलेको थियो ।
भारत सरकारको अनुदानमा निर्माण हुनलागेको ८२ किलोमिटर हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न नहुदै उदघाटन गरिएपछि विरोध प्रदर्शन भएको थियो । एमाले समर्थित युवाहरुले मन्त्री लेखक र राजदूत रे को विरोधमा नारावाजी गरेका थिए । प्रहरीले विरोधमा उत्रिएका युवाहरुलाई नियन्त्रणमा लिएपछि हुलाकी सडकको उद्घाटन गरिएको थियो ।
सन् २०१० बाट सुरु भइ सन् २०१३ मा सम्पन्न हुने भनिएको धनगढी, भजनी सत्ती र लम्की टीकापर र खक्रौला हुलाकी मार्गको निर्माण अहिलेसम्म पनि पूरा हुन सकेको छैन । बसन्तावन क्षेत्रमा १८ किलोमिटर सडक निर्माण हुन बाँकी नै छ । नेपाल सरकारसँग भएको सम्झौता अनुसार राजमार्गको ठाउँ ठाउँमा निर्माण गरिनु पर्ने केही पुलहरुसमेत निर्माण भएका छैनन ।
यस्तो अधुरो कामका बीच मन्त्री लेखक र रन्जित रे ले हुलाकी सडक सम्पन्न भएको भन्दै उ्दघाटन गरेपछि त्यसको विरोध भएको हो । विरोधमा उत्रिएका युवाहरुले काम सम्पन्न नहुदै हुलाकी सडक उद्घाटन गरिनु आश्चर्य भएको बताएका छन् । अन्तराष्ट्रिय रुपमा चर्चामा रहेको वसन्ता जैविकमार्गमा सडक नवनाउन अधिकारकर्मी र संरक्षण क्षेत्रवाट ब्यापक बिरोध भइरंदा हतारमा गरिएको उद्घाटनले हुलाकी राजमार्गको भविष्य झन अन्यौलमा पारेको छ ।