बुधबार, ५ माघ,
विन्टरको कठ्याङ्ग्रिने चिसो । तापमान माइनसमा थियो । सम्झँदा पनि मुटु नै सिरिङ्ग हुन्छ ! यद्यपी, यसपाली फरक अनुभूति छ । अनुभवले न्यानोपनको नयाँ इतिहास कोर्दै थियो । कोरा कागजरुपी जीवनको किताबमा रमाइलो अध्याय थपिने कल्पनाले कोष कोष दंगदास थिए ।
शहर कुहिरोभित्र निसास्सिए पनि मनमा खुशीको बेजोड शंख बजिरहेको छ । कल्पनाको न्यानो च्यादर ओढेर मनोवादको गहिरो विस्तारामा डुबुल्कि मारिरहेको थिएँ । अप्रत्यासित जुटेको संयोग किमार्थ खेर जानेवाला थिएन ।
‘त्यहाँ कसको म्यासेज हो ? देखाइस्यो त खोइ !’ मोबाइलमा आएको एउटा नोटिफिकेसनको त जासुसी गर्ने बुढीले म अर्की केटीसँग फिल्म हेर्न जाने कुराको सुइँको मात्र पाइ भने मेरो टाउको फुटाल्ने मात्र हैन पाँच बर्षकी छोरीसित डिभोर्स दिन्छु भन्न पनि पछि पर्दैनथी । म उसको मनोदशासँग राम्रोसित परिचित छु । अनि, आफ्नै अपराध बोधले गलित पनि । त्यसैले, यो खतरनाक खेललाई खुब चनाखोसँग अन्जाम दिनुपथ्र्यो ताकी यसको किन्चित भानसम्म उसलाइ नपरोस् !
सरला घिमिरे । रोमन महर्जनकी श्रीमति । कुरा काट्नेले ब्रिटिश केटो पट्टयाएर बिहे गरी पनि भन्छन । तर, मलाई बाल थिएन । बिहेपछि आफ्नै बाबाको थरले चिनिन खोज्ने स्वाभलम्वी गृहणी । छोराछोरीको थर पनि आफ्नै थरबाट हुनुपर्छ भन्ने उत्तरआधुनिक महिला !
‘यू आर फेमिनिस्ट !’ उसलाई जिस्काईदिन्थे ।
रिस उसको नाकको टुप्पोमै थियो । तर, मुस्कानको पर्दा हालेर रिसलाई दबाउन ऊ पोख्त थिई नै ।
वेम्ब्ली वेस्ट, ब्लुमफिल्ड रोड, थ्री बेडरुम हाउसको सानदार बसाइ !
ब्लु कलरको कुर्ता अनि ‘वन कट’ हेयर स्टाइलमा ठ्याक्कै इमा वाट्सन लुकमा देखिने उसको भरपूर जवानीले आकर्षित नगर्ने पुरुषलाई बिरामी मान्छे भनिदिए हुन्छ ।
एम–एस्सी स्टुडेन्ट । उमेर २७ बर्ष । ५ फिट ३ इन्चको उचाई । जिरो फिगर । घर काठमाडौँ, नारायणथान । उसको मोटामोटी हुलियाँ यही हो ।
लिड्स मेट्रो यूनिभर्सिटीको इन्डक्सन क्लासमै सुन्दरताको ताज पहिरिएर गोरे र काले स्टुडेन्टले भरिभराउ क्लासमा एसियन अनुहारको प्रतिनिधी बनेर आएकी थिई ऊ !
परिचयको निस्वार्थी हात मैले नै अघि बढाएको थिए । कोही साथी भेटियोस भन्ने भाव उसमा पनि रहेछ भन्ने कुरा पछि थाह भयो ।
‘स्टिल अनलाइन ?’
राति २ बजे ह्वाट्सएप आयो सरलाको !
‘राति ११ बजेपछि फेसबुकमा म्यासेज नगर्नु ल’, उसले हाइअलर्ट गर्थि । होसियार बन्ने अचम्मको कला हुन्छ केटीहरुसँग !
साइलेन्ट मोडमा राखेको मोबाइल खुसुक्क झिकेर रिप्लाइ गरेँ, ‘किताब पढ्दै छु, तिमी के गर्दै त ? बुढा छैनन् र साथमा ?’
‘बाथरुम आएकी नि !’
परिचय र हिमचिमको दूरी यसरी बढ्दै गयो, हामीलाई ३/४ बजेसम्म नसुति च्याट गर्न मन पथ्र्यो । बोलेरभन्दा टाइप गरेर कुरा गर्न रमाइलो हुने अनुभव सरलाले नै सिकाएकी थिई । ऊ इमोजी र स्टिकर हालेर च्याटलाई जीवन्तता दिन सक्ने एक निपुण केटी हो ।
‘म त स्टिकर यूज गर्न पीएचडी गरेको मान्छे’, फूर्ति लगाउन नि सिपालु थिई केटी ।
‘कसरी म्यानेज हुन्छ हो बूढालाई छलिछलि म्यासेज गर्न ?’
‘जहाँ इच्छा त्यहाँ उपाय !’, उसले भनि ।
एकदिन उसले यो पनि भनि, ‘बिहेपछि चिट गर्नु हुँदैन भन्ने बिचार प्रगाढ बनेर स्मृतिपटलमा आयो । तर, त्यही बसिरहनु पर्ने धर्म उसले पूरा गरेन ।’
उसो त इन्टरनेटमा च्याट र भेटघाट गर्दैमा प्रायश्चितको दैलोमा दस्तक दिनुपर्छ भन्ने मलाई पनि लागेन ! मन कन्चन हुनुपर्छ बस त्यत्ति हो !
सम्बन्धको डोरी जति नजिक भयो उति कसिलो बन्दोरहेछ ! बन्दै गयो !
हाम्रो बसाई वुलवीच लण्डन । एउटा नेपालीकै घरको ठूलो कोठामा जेनतन दुःख सुख अटाएको थियो । जाडोमा हिटिङको महसुस हुनुबाहेक अरु कुनै गुनासो थिएन रुमसँग ।
नोभेम्बर अन्तिम साता, साउथ लन्डन कलेजको कापबाट छिरेको घामको किरणले वूलविच सहरलाई गोधूलीको मधुर आलिङ्गनमा कस्ने संकेत दिदँै छ । सानो सहर, मानौ मान्छेलाई थेम्स नदीको पहेलो प्रतिबिम्ब हेर्न समेत २ मिनेट समय छैन ।
लो फिल हुँदा उसको याद आउँछ !
‘हाए ! सरला, हाउ आर यू ?’
म्यासेज गरेँ । म्यासेज सिन भएको दश मिनेटसम्म पनि कुनै रेस्पोन्स आएन । केटीको जातै यस्तै, खुब भाउ खोज्नुपर्ने !
ऊ बाट फस्र्ट म्यासेजको आश गर्नु ‘वन्स इन ए ब्लुमून’जस्तै थियो । अपितु उसमा अन्तरनीहित अभिमानको यो अभिबृद्धीलाई कहिल्यै पढ्ने प्रयास गरिन । उसको एक म्यासेजले सबै रिस मथ्र्यो ।
पन्ध्र मिनेटपछि उसले रेसपोन्स गरी ।
‘हेल्लो मिस्टर, के छ खबर ?’
‘क्यान वि ह्याभ कफी डेट टुडे प्लिज ?’ भेट्ने रहरको तीब्र इच्छा उम्लेर आयो ।
‘तिम्लाई केटी फकाउन आउँदैन है ?’ जवाफमा तीखो कटाक्ष आयो ।
‘ह्याँ... मलाई पट्याउनु छैन केटीसेटी । भन भेट्ने त आज ?’
म भेट्ने मूडमा थिएँ ।
उसले, ‘उमम्’ गर्दै रिप्लाइ गरी । उमम् भनेको उसको ‘ओके’ भनेको थियो मैले बुझिहालेँ । लोकेशन फिक्स्ड भयो । पिकाडेली सर्कस, म्यान्स क्याफे ।
हातमा कालो कफी सहित कुनाको सिटमा कूम जोडेर लाडे पल्टिदै उसले सोधी ‘भाउजुको खबर के छ ?’
‘सि इज अलराइट’, मैले यत्ति भने । यो क्षणमा बुढिको कुरा ननिकालेको भए हुन्थ्योझैँ लागिरहेको थियो । औपचारिकता पूरा गर्नुपर्ने पालो मेरो थियो, ‘रोमन कता हुनुहुन्छ त ?’
‘कन्फ्रेन्सको लागि आज स्कटल्यान्ड जानुभा’छ, उतै बस्ने रे ।’ उसले सहज उत्तर दिई ।
‘तिमी त फुलटाइम एभाईएबल रहेछौ !’ उसलाइ जिस्काइदिए ।
उसले ध्यान दिइन यो कुरामा !
लङग कोट र ब्ल्याक स्कार्फ, एडिडास ट्रेनरमा सजिएकी सरला सुन्दरताकोे प्रतिमूर्ति लाग्थी । जहाँ मणिहरु चम्काँउथे उसका आँखा बनेर, चाँदनी कि चाँद थिइ ऊ ! सूर्यको धूपलाई पनि माथ दिने सुकोमलता । यस्तो लाग्थ्यो पवनको एक झोक्काले पनि उसको शरीरलाइ आजसम्म चुम्न भ्याएको छैन !
‘तिमी अष्ट्रेलिया जाउ रिसर्च प्रोग्राममा । मेरो पनि पहिला अष्ट्रेलिया नै ड्रिम थियो ।’ गफैगफमा ऊ कन्सल्ट्यान्ट बन्न थाली ।
‘म विवश छु सरला, यूके मेरो कर्मभूमी जस्तै लाग्छ’, मैले आदर्श छाँटे ।
‘कारागार त हैन नि यूके जसका निर्दयी ढोकाहरु खोलेर बाहिर निस्कन नसकियोस’, ऊ पनि के कम ? दह्रै दिई सोचाइको फाउन्डेसन नै हल्लाउने गरेर ।
म शान्त बने, ऊ फिस्स हाँसी । यस्तो लाग्थ्यो उसको एउटा फेक स्माइलमा पनि हजारौ दुःखलाइ निस्तेज पार्ने खुबी छ । ऊ सयौं पीरलाई मनमा दबाएर पनि चहकिलो हाँसो हाँस्न सक्छे !
‘आज मुभी हेर्न जाउँ न सरला !’ एक्कासी, सुषुप्त आत्मविश्वास र रहरको साउन उर्लेर आयो मनमनै । अनायासै मैले ठूलो जोखिम मोलेर यो प्रस्ताव उसको अगाडि राखेँ !
म हाम्रो सम्बन्ध कुनै हालतमा बर्बाद भएको हेर्न चाहन्नथे । आजसम्म कुनै केटीसँग फिल्म त के १५ सेन्टिमिटरसम्मको दूरी बनाएर बसेको अनुभव मलाइ छैन ।
फिल्म हेर्न जाने गर्लफ्रेन्डसँग मात्र हो कि बेस्ट फ्रेन्डसँग पनि हो ? म द्वीविधाको ठूलो चक्रव्यूहमा फसे । मस्तिष्कमा कुरूक्षेत्र मच्चियो ।
हामी साथी । फ्रेन्डजोनमै सीमित रिलेसन । दुवै विवाहित । प्रेम प्रस्ताव र अफेयरको कुरा हुने ठाउँ नै रहेन । उसैले भनेझै हामी बिएफएफ थियौ । बेस्ट फ्रेण्ड फरएभर ।
मेरो आत्मघाति प्रस्तावमाथि उसले सहमतिको कवच पहिराईदिई । जसले मेरो आत्मसम्मानको रक्षा गरेको थियो, तर एउटा सर्त सहित ।
‘फिल्म हेर्न त जाने तर, जेन्टलमेन बन्नुपर्छ है ।’
अब बन्दिन त कसले पो भन्थ्यो र ! ‘स्योर स्योर’भन्दै हाम्रो प्लान तय भयो ।
पौने नौ बजे । ब्राड पिटको मुभि ‘अलाइड’
जूब्लीलाइनले विद्युत बेगमा नर्थ ग्रीनवीच ल्याइपु¥यायो आधा घन्टा अगाडि न । समयको प्रचुर फाइदा उठाउँदै दुई दुई पाइन्ट बियर पियौँ । कोहि मान्छेले देखिहाल्छ कि भन्ने भय दुबैको मनमा गाढा थियो । तर पनि मात्तिएर खुट्टा जोडेर बस्न उसले म्यानेज गरिसकेकी थिई ।
‘केटीले चाहे जे पनि सम्भव छ है ?’ व्यङ्ग्यवान हाने । उसले ओठ लेप्य्राई !
जति भाउ खाए पनि ऊ सँग मनमिल्ने साथी हुनुपर्छ । ननस्पट बोल्दै जान्थी । मलाई उसको यो बानी नै उसको ब्यक्तित्वको सबैभन्दा सुन्दर श्रृंगार लाग्छ । सम्भवत सबै केटीहरु यही कलाका धनी हुन्छन । ट्रस्ट गर्ने मान्छे भेटे भने उनीहरुलाई रोक्न सकिदैन ।
मैले उसको भाउ खाने बानीमा उसको बाध्यता देख्न थालिसकेको थिएँ ।
टिकट उसले काटी, बर्थ–डेको ट्रिट भन्दै । पप कर्न र सानो बोटल पानी पनि उसैले तिरी । उसको आगाडी मेरो कञ्ज्युस्याई फिका पथ्र्यो । केटीको संगतमा लागेका केटाले छुच्याई युद्ध जितेका हुन्छन् । तर, उसको अगाडि मेरो जोर चलेन ।
‘रक्सी पिएपछि केटीहरु बढी मात्तिन्छन नि ?’ लिफ्टमा हात समात्दै उसलाई सोधे ।
‘ह्या दुई पाइन्टले त केही हुन्न मलाइ ।’ रित्तो कोकको बोत्तललाई लात्तले हानेर परै पु¥याई । मलाई भने दुइ पाइन्टले नै रमरम बनाइसकेको थियो !
‘यति दुब्ली केटी । कसरी पचाउन सकेकी होली ?’ मथिंगलमा जिज्ञासाको नशालु बादल मडारिएर गयो ।
हाम्रो आधा पप कर्न ट्रेलर हेर्दा नै सकियो ! स्टान्डर्ड क्लासको सिट नं ४४ मा सरला र ४५ मा म ! मनको ढुकढुकी कतै साउन्ड सिस्टमलाई नै डिस्ट्रब गर्ने त हैन भन्ने जसरी धड्किरहेको थियो ।
‘तिम्ले अरुको फोटोमा लाइक हान्दा मलाई चसक्क हुन्छ ।’ म मौनता चिर्न चाहन्थे ।
उसको रियाक्सन देख्न लायक थियो ।
कोखैमा क्युट केटीसँग बसेर रोमान्टिक फिल्म हेर्दा भावनाको धरातलले साथीत्वको भूइँ छाडेर पुरुषमनको आकाश चुम्न लागिरहेको थियो ।
टाइट सर्ट, ब्लू जिन्स र लंग ज्याकेटमा माथि लगेर बानेको उसको सिल्की कपालले आज उसलाई अझ धपक्क बालेको मात्र थिएन, यता मलाई हजार भोल्टको करेन्ट लागिरहेको थियो । त्यसैमाथि, उसबाट आउने फ्रेन्च पर्फ्युमको गन्ध, मेरो बसाइको एङ्गल ढल्किँदै जानेमा शंका थिएन ।
‘तिम्रो ओठ पनि मारिवन कोटिवाटको जस्तै छ । जाडोले रुक्खीएका होलान बरु’, फिल्मको बीचतिर उसलाई जिस्काउने नियतले बोलिदिएँ ।
‘सट अप !’ साविकको झैं प्रतिकार गरी, मलाई उसको यो धम्की केही हैन भन्ने बानी परिसकेको थियो ।
रोमान्टिक सिनहरुको कमी थिएन फिल्ममा । जतिजति समय बित्दै गयो, मेरो नियत पनि उतिउति बेइमान भैरहेको थियो ऊ प्रति ।
मध्यान्तरतिर मेरो टाउकोले उसको काँधको सिरानी बनाएछ ।
‘चायाँ सारदिने हैन नि फेरि !’ उसले धम्क्याई ।
मलाइ भने अझै नजिक आयर टाउको जोड न भनेझैँ भाथ्यो मनमा ।
उसको आदेशात्मक सहमतिले मनमा झन हिम्मत आयो ।
घुँडामाथि वेवारिसे बनेको मेरो दाहिने हातलाई बिस्तारै उसले आफूतिर तानेर समाई, फिल्ममा रोमान्स क्लाइमेक्समा थियो । उसबाट दाहिने हात सुस्तरी हटाएर सिल्की परेको कपालमा काईयो जस्तै बनाएर घुसाइदिएँ । अनि कपालमै च्याप्प अठ्याएर उसको ओठलाई आफ्नो ओठ नजिकै तान्दै थिएँ, भाइब्रेशनमा राखेको मोबाइल घ्यार्र घ्यार्र गर्याे ।
बुढीले कल गरेकी रहिछ ।
लौ खत्तम ! मेरा नौनाडी गले । ठूलो परानले छोड्यो ।
बिना इमरजेन्सी कल गर्दिन नै भने हुन्छ मेरी बुढीले त्यसैले उसको कललाई कहिले इग्नोर गर्दैन्थेँ ! फोन काटेर तुरुन्त म्यासेज गरेँ ।
‘मिटिङमा छु, के छ खबर प्लिज म्सासेज गर ।’
‘प्रवेश किल्ड हिमसेल्फ ।’ उसले रिप्लाई गरी ।
‘ह्वाट द फ!’ मेरो चित्कारले दर्शकको ध्यान फिल्मबाट हट्यो । आवाजको प्रतिध्वनी कुनैसम्म पुगेर फेरि गुञ्जियो ।
क्षणभरमै त्यो रमाइलो पल गर्लामगुर्लुम ढल्यो । उत्साहको सगरमाथा एकाएक भग्नावशेषमा परिणत भयो । कालो, निष्पट र भीमकाय बनेर ।
म आधा प्यारालाइसिस भैसकेको थिएँ । शरीर रक्तअल्पताले सिकिस्त भएको बिरामी जस्तै हुन थाल्यो । गह्रौँ जाँतोले टाउकोमा थिचेजस्तै, खलखल्ति पसिना निस्के । भावशून्य मुद्रामा हलबाट उठेँ सरला पछि पछि आई ।
प्रवेश गुरागाई ! होनाहार एमबीए स्टुडेन्ट । लन्डन आएरै चिनेको । हाम्रो मिल्ने साथी आज राती आफ्नो घरमा झुन्डेर मरेछ ।
अविश्वास र बेहोसिको घनले हृदयको बीचमै बजाइदियो ! चित्कार र रोदनका हजारौँ शंखहरु मनमा एकैचोटि बजे । सान्नाटामा आँशुका डिलबाट थेम्स बनेर कैयन नदिहरु बहे ।
सरासर सेन्ट थोमस हस्पिटलमा पोस्टमार्टमको लागि राखेको उसको लास हेर्न गयौँ, स्ट्रगंलको दाग गाढै थियो ! उसलाई छातिमा टाँसेर डाँको छोडेर रुन मन लाग्यो ।
मनमा दुःख, दर्द, अपशोच र विस्मयका करौडौँ ज्वारभाटा उठे । हसिलो, मिलनसार र सबैको लागि आँखामा राखे पनि नबिझाउने प्रवेशको सुसाइडले सिंगो समाजलाइ स्तब्ध तुल्याएको थियो ।
लासको ठेगान लगाउन लोकल कम्युनिटी सक्रिय भएर लाग्यो । सबैको आँखामा औँसिको रात छायो । ओभानो आँखासितको नेपाली कतै देखिएन । च्क्ष्ए लेखेको कमेन्टले फेसबुक वालपोस्ट भरियो ।
‘मुलाको लुकिछिपी लभ परेको होला, धोका पाएर सुँइकियो केटो !’ हस्पिटलको प्रांगणमा विशेषज्ञ बन्दै उसको साथीले निर्मम कारण दियो । मलाई मन परेन उसको भनाई चुपै बसेँ म !
दोस्रो दिन वेटिङ हलमा बसिरहेको बेला चुरोटको तलतल लाग्यो, बाहिर निस्केँ,
‘केटोको परिवारबाट चरम तनाव मिलेको हुनुपर्छ, नत्र यस्तो काम कसैले गर्दैन’, एकजना बुज्रुकले अम्मल तान्दै प्रतिक्रिया दिए । मैले सिगरेट तान्नमै जोड गरिरहेँ । उनको तर्क पुष्टि गर्ने न त कुनै प्रमाण थियो न त कुनै साहस नै ।
‘मेरो भाइले नि त कोरियामा यस्तै गरेको थियो । अब के गर्ने ? बढ्ता चिन्ता लिनुहुन्न ।’ मन बुझाइदिन कृपा दिदी सुनाउदै थिइन ।
‘बाबु ! हार्ट आट्यक भएर मरेको भन्दिनु है’, कतारबाट उसको अङ्कल फोन गरेर सम्झाउँदै थिए । भाइबरमा पुअर नेटवर्क देखायो र काटियो ।
कसैले ऋणको रागमा जलेको थियो केटो भने, कसैले पैसा धेरै भएर मात्तेको थियो पनि भने । सानो नेपाली समाजमा हल्ला र अनुमानको आगो तुरुन्तै फैलियो ।
‘भिषा सक्किएर इलिगल हँुदै थियो केटो’, साथीहरुले अनुमान गर्न केही बाँकी छोडेनन् ।
‘रक्सिको लत छाड्नभन्दा प्राण छोड्न सजिलो लाग्यो होला’ कुरौटे समाजलाई अड्कल बाजीको खुराक पुगेको थियो ।
स्कटल्यान्डदेखि लन्डनसम्म चिनेका र सुनेका सबैले प्रवेशको मृत्युलाई अफसोच र आश्चर्यपूर्ण घटनाको रुपमा सम्झिरहे । ‘बिदेशमा पैसा र होम सिकनेसको सामन्जस्य गर्न नसकेर यस्तो कदम उठाउँछन मान्छेले’, एबिसी कलेजका शिक्षकले आफ्नो प्रतिक्रिया दिए ।
‘नामर्द रैछ जाँ!’ रिता दिदीले आक्रोशमय भावले मनको गाँठो खुकुलो गरिन ।
अफशोचको खाडलमा जाकिएको मेरो मन निरुत्तरित थियो ।
एक साँझ सरलाले कल गरेर सम्झाँउदै थिई ।
‘ह्या यस्ता मान्छे कति मर्छन मर्छन बिदेशाँ, दुनियाको टेन्सन लिन हुन्न साब हजुर ! हाम्रै अंकलको साथी पनि मेल्बर्नमा सुसाइड नै गरेको हो, कुनै कुनै दुर्घटना बिर्सेकै राम्रो ।’
यति राम्री केटी कति निष्पृह बन्न सकेकी, अचम्म लाग्यो !
‘सबैको मुटु तिम्रो जस्तो सुरो हुन्न नि नक्कली ! मान्छेलाइ घाउ भरिन समय लाग्छ’, मैले प्रतिबाद गरे ।
‘दैवको लिला यस्तै हो, राम्रा मान्छे नै यमराजका प्यारा हुन्छन !’ एकदिन पारिलो घाममा लाहुरेनी माइज्यू सम्झाँउदै थिइन ! मन बुझाउन दैव जस्तो गतिलो सहरा कोही भेटिदैन भन्ने लाग्यो मलाइ पनि...!
समयको खेल बलवान छ । सृष्टिको चक्र केही गरे रोकिन्न । मानिसलाई सहनै नसकिने दुःख परे पनि घाम उदाउन छोड्दैन, मलिनपनको पर्दा त मान्छेले आफ्नो रेटिनामा लगाउने हो । हावाले हाम्रो लागि किन गति कम गरोस ?
प्रवेशको ल्यापटप, मोबाइल र आइपोड, कल डिटेल बारिकीसँग स्क्यान गरेको थियो पुलिसले । त्यसमा कुनै ठोस रहस्य देखा परेन ।
चार दिनपछि उसको मृत शरीरलाइ रोयल कलेज अफ साइकाट्रिक एन्ड रिचर्स सेन्टर, क्यालिफोरनिया अमेरिका लैजाने निधो भएछ । परिवारको अनुमति सहित, एक बिशेष अन्वेषण र गहन केस स्टडिको लागि । परिवार र हस्पिटल संयुक्त पोस्टमोर्टेम गर्ने रिपोर्टमा साइन गरिसकेपछि उसको शबलाई अमेरिका उडाइयो ।
मृत आशाका किरणमा पनि मान्छेले कहिलेकाँही झूठो न्यानोपनको आभाष गर्दो रहेछ । अमेरिकाबाट आउने रिपोर्टको प्रतीक्षामा शुभचिन्तकका उदास आँखा सोझिए ।
करिब ३० दिनपछि मेडिकल रिपोर्ट आयो । उसलाइै बायोलोजिकल नै सेभिएर डिप्रेशन भएको रहेछ । दिमागी रसायनको ईमब्यालेन्सको कारण । ब्रेनको न्युरोट्रान्समिटरमा केमिकलको सुष्म अनुसन्धान पछि डाक्टरहरु निष्कर्षमा पुगेका रहेछन ।
‘ड्यु टु द लाइफ थ्रेटनिङ डिजिज, हि टुक हिज वन लाइफ !’ बिस हजार वर्डको रिपोर्टको खास निचोर्ड यही थियो ।
आफ्नो मनोरोगको राज उसले कहिल्यै बुझेन ।
‘साथी भनेर के गर्नु ? आफू सबैभन्दा अफ्ठ्यारो अवस्थामा हुँदा फिलिङ्ग्स सेयर गरेन मुलाले..! यति धेरै अन्तरमुखी थियो भन्ने कहिल्यै लाग्थेन’, एकदिन वेदरस्पुन पबमा बियरको अन्तिम घुट्को तान्दै हरि दाइ सुनाउदै थिए ।
‘दाइ ! जो मान्छे बाहिर जस्तो देखिन्छ, भित्र त्यस्तो नहुने रहेछ । मैले मान्छेको आकृतिमा विश्वास गर्न छोडेँ’, गिलासको पुछारमा रहेको एक घुट्को बियरलाई अन्तिम सहरा दिँदै मैले थपेँ ।
आज वूलवीच बजार अघिपछि जस्तो उज्यालो लागेन ।
‘औषधी र काउनसिलिङ्ग ३ महिना मात्र गरेको भए ऊ सामान्य रुपमा बाँच्न सक्थ्यो रे । फस्ट एपिसोडको उपचार त झन सजिलो हुँदोरहेछ । ‘सिनियर कन्स्लट्यान्ट एण्ड न्युरोलोजिस्ट प्रोफेसर डा. रिचार्डले एकदिन इमेलमा भनेका थिए । साथै अधिकांश आत्म हत्याहरुको केसमा मनोरोग नै कारक हुँदोरहेछ । ठिक उपचार पाए निको हुने पक्का ! रिसर्चसको रिपोर्ट पढ्दै गर्दा त्यसै मन एकतमासको भयो । प्रवेस आँखा अगाडि घुमिरह्यो !
सरलालाई पनि इमेल फरवार्ड गरिदिएँ । ज्ञान बाँडे बढ्छ भन्छन् । केटीले पनि केही सिकोस भन्ने लाग्यो । तुरुन्तै कल गरी, आवाजमा अफशोचका झन्कारहरु प्रतित हुन्थे । केटी तिन दिनको अनिदो जस्तै लागि ।
‘सन्चो छैन र आज ?’ मलाई सोध्न मन लाग्यो ।
‘हैन आज सोमबार, ब्रतको लागि उपवास बसेमी । मैले पानी पनि खान्न त त्यहि भएर होला..!’
‘भेजिटेरियनहरुलाई ब्रत बस्नै पर्दैन नानी । रोज पुण्यका हकदार हुन उनीहरु ! मैले सुनाइदिँए । ब्रत सफल भएजसरी फुरुंग भई !
बिचमा दुइ हप्ता ऊ सँग कुरा हुन पाएन । न्यास्रोपन मेट्न मन लाग्यो ।
‘हाय, सरला हाउ आर यू ? रोमन जीको कन्फरेन्स कहिले छ ?’आँखा झिम्काएको इमोजी हालेर म्यासेज गरे ।
‘सिक म्यान !’ २५ गते ओस्लो जाँदै हुनुहुन्छ । उसले नि जिब्रो निकालेको स्टिकर हालेर रिप्लाई गरी ।
‘क्यान वि ह्याभ कफी डेट प्लिज ?’
उसको उम्ममम्म गरेको रिप्लाई आउन धेरै बेर लागेन !