जनतालाई भ्रममा पारेर ‘ओलीजम’ लाद्न खोजेको आरोप
काठमाडौं, ३ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भारतीय हस्तक्षेप रोकेर देखाउन चुनौति दिएका छन् । उनले ओलीलाई जनतालाई भ्रममा पारेर ‘ओलीजम’ लाद्न खोजेको आरोप लगाए ।
आफ्नो एक अन्तर्वार्तामा उनले ओलीसहितका अन्य नेताहरुलाई इङ्गित गर्दै पुराना राजनीतिक शक्ति र नेताहरुले आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर जानुको सट्टा उल्टो काम गरिरहेको बताए । बर्तमान अवस्थामा उत्पन्न परिस्थिती बाह्य शक्तिबाट भएको भनेर भ्रम छर्ने र जनतालाई आफ्नो पछि लगाउने काम भएको उनले आरोप लगाए ।
अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्पइजम’ चलाएजस्तै नेपालमा एउटा पात्रमार्फत ‘ओलीजम’ प्रवृति हावी भएको उनले बताए । जसलाई उनले घातक प्रयास भनेका छन् ।
ठूलो संघर्षपछि लोकतान्त्रिक गणतन्त्र आएको भन्दै उनले राजनीतिक परिवर्तनसंगै आर्थिक, सामाजिक र सांस्कृतिक लाभ लिन नसकिएकाले जनतामा वितृष्णा पैदा भएको बताए । यहि जनताको बेचैनीमाथिको फाइदा उठाएर ‘ओलीजम’ प्रवृति हावी भएको उनको विश्लेषण छ ।
भट्टराईले यसअघि सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओलीको बढ्दो लोकप्रियतालाई इंगित गर्दै नेपालमा ‘ओलीज्म’को हावा बग्ने खतरा रहेको बताएका थिए ।
दैनिक नेपाल