काठमाडौं, २ माघ । प्रहरीले एकै दिन ७ करोड रुपैयाँबराबरको सुन र ५ करोड बराबरको डलर बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चिनियाँहरूको साथबाट डलर तथा टाटा सुमो चालकबाट सुन बरामद गरेको हो ।
सुन तस्करहरूले ना१ज ४९६४ नम्बरको गाडीको ब्याट्री राख्नेभित्र फल्स बटन बनाएर १५ किलो सुन लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार तस्करहरूको सुन तस्करीको यो अत्यन्तै नयाँ तरिका हो । राजधानी दैनिकले समाचार छापेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध ३३ किलो सुन बरामद गरेको दुई साता पनि नबित्दै प्रहरीले काठमाडौंको बालाजुबाट १५ किलो अवैध सुन बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुले टाटा सुमो गाडीको अगाडि इन्जिन राख्ने भागको पछाडितर्फ फल्स बटम बनाई सुन राखिएको अवस्थामा सुन फेला पारेको हो ।
वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्र राखिएको सुन पत्ता लगाउन प्रहरीलाई निकै समय लागेको थियो । सो सुन केरुङ नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याइएको हो । तातोपानी नाका बन्द भएपछि तस्करहरूले सुन तस्करीका लागि पछिल्लो समय केरुङ नाका प्रयोग गर्दै आएका छन् ।
प्रहरीले सुन ल्याइएको टाटा सुमोका चालक भक्तपुरका रवीन्द्र भुजेललाई पनि पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रद्युम्न कार्कीले चालक भरिया मात्रै रहेकाले मालिकको खोजी भइहेको बताए । चालकसँगै आएका एक व्यक्ति भने पक्राउ पर्नुअघि नै भागेको प्रहरीले जनाएको छ ।
सो टाटासुमोबाट सुन ल्याउँदै गरेको सूचना प्राप्त भएपछि बालाजु वृत्तका प्रमुख डीएसपी सन्तोष तामाङ आफैं मध्यरातमा निस्केका थिए । उनी आफैंले टाटा सुमोलाई फलो गरेका थिए ।
चौमतीस्थित बालाजु चोकदेखि चौमती नयाँ पुलतर्फ जाँदै गरेको टाटा सुमो चेकजाँच गर्ने क्रममा सो सुन बरामद भएको बालाजु वृत्तले जनाएको छ । प्रहरीले सो टाटा सुमोलाई कंलकीदेखि नै फलो गरेको थियो । प्रहरीका अनुसार सो समान सुरक्षित रूपमा ल्याइदिएबापत चालकलाई डेढ लाख रुपैयाँ दिने भनिएको थियो ।
प्रहरीका अनुसार, सुन पठाउनेले सुन लगेर एकान्तकुना लैजानु र गाडीको चाबी एकजना मान्छेलाई दिनु भनेर चालकलाई भनेका थिए । तर, त्यसअघि नै प्रहरीले सुन बालाजु पु¥यायो । सुन लुकाउने स्थान हेर्दा बक्सको आकार र त्यो बनाएको तरिका हेर्दा यो गाडीले पहिले पनि यसैगरी कैयौंपटक सुन ओसारेको हुनसक्ने प्रहरीले दाबी गरेको छ ।
बरामद सुन बिस्कुट आकारका छन् र प्रत्येक बिस्कुट एक किलोका छन् । बरामद गरिएको सुन प्रचलित बजार मूल्यअनुसार ७ करोड २ लाखबराबरको छ ।
एसपी कार्कीले सुन तस्करी जघन्य अपराध भएको भन्दै पक्राउ परेका व्यक्तिविरुद्ध संगठित अपराधसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जानकारी पनि दिए । ‘यो संगठित अपराध हो, यसलाई हामी प्रचलित कानुनअनुसार संगठित अपराधको मुद्दा चलाउँछौं,’ एसपी कार्कीले भने ।
यसअघि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद गरेको थियो । त्यसमा पक्राउ परेका अभियुक्त तथा सरकारी कर्मचारीलाई पनि प्रहरीले संगठित अपराधको मुद्दा लगाउने भएको छ । जसका लागि प्रहरी ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने समय हुन्छ ।
४ करोड ७१ बराबरको अवैध मुद्रासहित तीन चिनियाँ पक्राउ
पर्यटक बोक्ने गाडीमा अवैध विदेशी मुद्रा लिएर हिँडिरहेका तीनजना चिनियाँ नागरिक र एकजना नेपाली गाडीचालक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले ४ करोड ७२ लाख रुपैयाँबराबरको अवैध विदेशी मुद्रासहित उनीहरूलाई पक्राउ गरेको हो ।
लामो सयमपछि चिनियाँ नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेका हुन् । सो रकम बोकेर रसुवातिर गइरहेको अवस्थामा प्रहरीले शनिबार बिहान ३ बजे नागढुंगाबाट पक्राउ गरेको हो ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार उनीहरूले पर्यटक बोक्न प्रयोग हुने बा१ञ १२३२ को हरियो प्लेटको स्कारपियो गाडीमा ह्यान्ड ब्याग र सुटकेसमा सो रकम फल्स बटन बर्ना लुकाएको अवस्थामा फेला परेको हो ।
प्रहरीद्वारा पक्राउ परेका विदेशी नागरिकको साथबाट २ लाख ६० हजार ६ सय अमेरिकन डलर, १ लाख १८ हजार ६ सय १० युरो, केही स्विस फ्रयांक बरामद गरेको छ । सो रकम कुन प्रयोजनका लागि कसले चीन पठाएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले पनि ६१ लाख रुपैयाँ अवैध विदेशी मुद्रा बरामद गरेको थियो ।
