२८ असार, काठमाडौं ।
कांग्रेस–माओवादीका नेताहरूबीच मन्त्रिपरिषद्को भागबन्डाका विषयमा समेत समझदारी बनेको छ । तर, माओवादीले ओलीको निर्णय पर्खने भनेकाले हस्ताक्षर भएको छैन ।
अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल बाँकी रहेकाले त्यस्तो मस्यौदाको विषयवस्तु सार्वजनिक नगरिएको नेताहरूको भनाइ छ । तर, प्रारम्भिक सहमतिअनुसार कांग्रेसले १२, माओवादीले ८, विजय गच्छदारको फोरम लोकतान्त्रिकले २ र राप्रपाले २ मन्त्रालय पाउनेछन् ।
बाँकी ८ मन्त्रालय अन्य दलका लागि छुट्याइएको छ । कांग्रेससँगको सो छलफलपछि बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई बाटो छाडिदिन आग्रह गरेका थिए ।
देउवा र प्रचण्डबीच सिंहदरबारमा आधा घन्टा वार्ता
ओलीलाई भेट्नुअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगी झन्डै आधा घन्टा भेटवार्ता गरेका थिए । यी दुई नेताबीचको भेटमा पछि विमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि थपिएका थिए ।
कांग्रेस नेता निधिसँग सोमबार नै माओवादी केन्द्रका नेता महराले छुट्टै भेट गरेको र पछि शीर्ष नतोहरूसँग दुवै नेता छलफलमा मिसिएको कांग्रेसनिकट स्रोतको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतीय सरकार गठनको सम्भावना नरहेको प्रस्ट्याएका छन् ।
सहमतीय सरकार गठनका लागि आफूलाई भेट्न आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको आफ्नै नेतृत्वमा सहमतीय सरकारको प्रस्तावलाई देउवाले अस्वीकार गरेका हुन् । देउवालाई भेट्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेका प्रचण्ड २२ मिनेट भेट गरेर बाहिरिएका थिए ।
दुई दलको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा र केन्द्रीय सदस्य विमलेन्द्र निधि तथा माओवादीबाट प्रचण्ड र कृष्णबहादुर महरा सहभागी थिए । ‘राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भनेर पार्टीमा निर्णय गरेपछि प्रचण्ड आफूलाई सहमतिको प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गर्दै सभापतिलाई भेट्न आउनुभएको थियो,’ निधिले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘प्रचण्डले हामीले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्यौँ, तपाईंहरूको पनि साथ चाहियो भन्नुभयो, तर सभापतिले अहिले सकिँंदैन, प्रधानमन्त्री केपी ओलीले पनि आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको रूप दिऔँ भन्दा पनि गएका छैनौँ । ओलीजीसँग हाम्रा के दुस्मनी छ र, उहाँलाई हुँदैन भन्ने, तर तपाईंलाई दिनुपर्ने ? त्यसैले अहिले यस्तो सम्भावना नै छैन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment