• Breaking News

    6.24.2016

    सेनाले ११ जिल्लामा एक महिनामै बनायो भूकम्प पीडितका घर


    काठमाडौं, १० असार । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पालमा कष्टकर जीवन विताइरहेका ११ जिल्लाका भूकम्प पीडितले वर्षायाम सुरु हुनुअगावै घर पाएका छन् ।
    सरकारको निर्देशनमा नेपाली सेनाले एक महिनामै भूकम्प प्रभावित ११ जिल्लामा सामूहिक आवास निर्माण गरेपछि पीडितले घर पाएका हुन् ।
    सेनाले बनाएका ती घरहरुलाई शुक्रबारबाट स्थानीय गाविस सचिव र सम्बन्धित सरोकारवालाहरुको रोहबरमा स्थानीय सरकारी निकायलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।
    ‘विनाशकारी भूकम्प २०७२’ बाट विस्थापित भई पालमा जीवन निर्वाह गर्न बाध्य भएका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगा जिल्लाको विभिन्न ३६ स्थानका ४६८ भूकम्प पीडित परिवारहरुलाई लक्षित गरी नेपाली सेनाद्वारा निर्माण कार्य प्रारम्भ गरिएको थियो ।
    जसअन्तर्गत भौगोलिक विकटता, यातायातको असुविधा, सामानको उपलव्धता तथा प्रतिकुल मौसमको कारण धादिङ्ग जिल्लाको ५ स्थान, ओखलढुंगा जिल्लाको २ स्थान र काभ्रे जिल्लाको १ स्थान बाहेक अन्य सम्पूर्ण स्थानहरुको निर्माण कार्य सम्पन्न गरी आजदेखि स्थानीय सरकारी निकायलाई हस्तान्तरणको कार्य प्रारम्भ गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
    भूकम्पबाट विस्थापित परिवारहरुका लागि अस्थायी सामुहिक आवास भवन निर्माण गर्न पुनर्निर्माण प्राधिकरणको अनुरोधमा रक्षा मन्त्रालयले जेठ १२ गते नेपाली सेनालाई पत्राचार गरेको थियो । सोही अनुरुप बर्षा अगाडी नै भूकम्प पीडितहरुलाई अस्थायी आवासमा सार्ने नेपाल सरकारको निर्णय बमोजिम भूकम्प पीडितहरुको जीवनयापनलाई सामान्यीकरण गर्न नेपाली सेनाले जिम्मेवारी पाए लगत्तै जेठ १६ गते सामूहिक आवास निर्माण कार्यदल गठन गरी आवश्यक योजना तथा तयारी पश्चात् जेठ २२ गतेबाट करिब २३०० जनशक्ति परिचालित भई निर्माण कार्य प्रारम्भ गरेको थियो ।
    नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार उक्त अस्थायी सामुहिक आवास निर्माण कार्यको लागि नेपाली सेनालाई १८ करोड ८८ लाख १६ हजार २ सय २६ रुपैया र ३० पैसा निकासा भएको थियो ।
    ‘नेपाली सेना, नेपाल सरकारबाट सुम्पिएका जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गर्न तथा अस्थायी आवास निर्माण जस्तो पूनित कार्यमा सहभागी हुन पाएकोमा गौरभान्वित महसुस गर्दछ’ प्रवक्ता कार्कीले भने– ‘साथै, यस प्रकारको राष्ट्रिय अभियानको दायित्व निर्वाह गर्न तथा राष्ट्रिय हित र राष्ट्रवासीको कल्याणको लागि सदैव समर्पित रही रहने विश्वास नेपाली सेना सबैमा दिलाउन चाहन्छ ।’

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र