काठमाडौं, २७ जेठ । पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा असम्भवजस्तै लाग्छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली निकाल्ने योजनामा काम सुरु भएको हो । समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहका अनुसार बागमतीमा मिसिने ढल पनि शुद्ध पानीमा परिणत हुनेछ भने प्रशोधन यन्त्रको पंखाबाट बिजुली पनि निकालिनेछ ।
योजनाअनुसार गुह्येश्वरीबाट पहिलो चरणमा दुई सय ४० किलोवाट प्रतिघन्टा बिजुली उत्पादन हुनेछ । ‘हामीले अत्यन्तै कडा मापदण्ड राखेर ढल प्रशोधनको काम अघि बढाउने सहमति गरेका छौं’, सिंहले भने । ढल प्रशोधनका लागि प्रयोग गरिने शक्तिशाली मेसिनमा चल्ने पंखाबाट प्रतिघन्टा दुई सय ४० किलोवाट बिजुली निकाल्न सकिनेमा विदेशी ठेकेदारले सहमति जनाएर काम अघि बढाइएको हो ।
एसियाली विकास बैंकले उपलब्ध गराउने ऋण सहयोगमा केयूकेएलको मेलम्ची २ आयोजना कार्यान्वयन निर्देशनालयले हालसालै ठेक्का लगाएपछि ठेकेदारले स्थलगत अध्ययन र सर्भेसमेत सम्पन्न गरिसकेको छ । बागमतीमा सफा पानी बगाउने र सफा बनाउने उद्देश्यका लागि विभिन्न पाँच स्थानमा प्रशोधन केन्द्र बनाउने प्रक्रिया अघि बढेको हो । पाँचै स्थानबाट बिजुली निकाल्ने योजना छ ।
गुह्येश्वरीमा रहने प्रशोधन केन्द्रबाट छानिएको पानी पशुपतिमा नुहाउन तथा मुखमा हाल्न मिल्नेसम्मको हुनुपर्ने सर्त राखिएको जानकारी सिंहले दिए ।
No comments:
Post a Comment