प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितलाई पहिलो किस्तामा १ लाख पचास हजार रुपैयाँ दिने कुरा सबैसँग छलफलपछि मात्र लागु गर्न सकिने बताएका छन्। बुधबार संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पैसा नेपाल सरकारले नभई दाताहरुले दिने भएकाले यस विषयमा थप छलफल आवश्यक भएको बताए। यसअघि पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार दिने सहमति भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिएको थियो।
सहमति भएको भनिएको विषयमा प्रधानमन्त्रीले थप छलफल गर्ने भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेता ‘भएन’ भन्दै आफ्नो सिटबाट उठेका थिए। कांग्रेसका सांसद उठेपछि सम्बोधन गरिरहेका प्रधामन्त्री केही बेर रोकिएका थिए। सभामुख ओनसरी घर्तीको पटक पटकको आग्रहपछि कांग्रेस सांसदहरु बसेका थिए।
त्यसपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिपक्षीको माग नबुझेको बताए। ‘उहाँहरुले भनेको २ लाख दिन कुरा मिल्दैनथ्यो। किस्ताबन्दीमा दिने सहमति भनेको त्यही हो। ५० हजारमा एक लाख थपी दिने भनिएको हो। उनीहरुसँग भएको सहमति अनुसार अन्तराष्टिय पक्षसँग भएको सझौता र कार्यविधिमा परिवर्तन र सहमति गरी जान तयार छौं भन्दा भएन भने के भएन?’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले अगाडि भने – भएन भनेको कुरा बुझिनँ। म आग्रह गर्छु हामीले समस्याको अनावश्यक बल्झाउने काम नगरौं। सरकार गम्भिर रुपमा चिन्तित छ।
उनले एकमुष्ट रकम दिन सरकार कडा हुनु पर्ने आवश्यकता नरहेको उल्लेख गर्दै बढी दिन सकिने अवस्था भए पनि सरकार दिन तयार रहेको बताए। ‘दुरुपयोग नहोस् र राहत पाउन् भनी यसो गरिएको हो’, ओलीले भने। प्रधानमन्त्री ओलीले आफूले प्रष्ट रुपमा कुरा राखेको उल्लेख गर्दै भने– मैले यहाँ नेपालीमा नै बोलेको छु भने कसरी बुझिएन?
उनले देश अप्ठयारोमा परेको अवस्थामा सानातिना कुरामा नअल्झिन प्रतिपक्षी कांग्रेसलाई आग्रह गरे।
No comments:
Post a Comment