पेरिस—फ्रान्समा भइरहेको युरो कप २०१६ मा रुस र इंग्ल्यान्डको पहिलो खेलका क्रममा दुई देशका समर्थकबीच हिंसात्मक झडप भएको छ। दक्षिण फ्रान्सको मार्से सहरमा रसियाली टोली तथा इंग्ल्यान्डको टोलीका समर्थकबीच झडप भएको हो।
एक अर्काबीच हानाहानमा उत्रिएका समर्थकहरुले बोतल तथा कुर्सीले प्रहार गरेका थिए।यो झडपमा कम्तिमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको स्थिति गम्भीर रहेको फ्रान्सेली प्रहरीले जनाएको छ। गम्भीर घाइते हुने वेलायती नागरिक भएको र उनको वास्तविक स्थितिबारे वेलायतलाई जानकारी दिन आफूहरु तयार रहेको अधिकारीहरुले उल्लेख गरेका छन्।
पछि इंग्ल्यान्ड तथा रुसको खेल १—१ को बराबरीमा अन्त्य भएपछि दुई देशका समर्थकहरुबीच फेरि भिडन्त सुरु भयो। हिंसाको सुरुवात रुसका समर्थकले इंग्लिस समर्थकमाथि हमला गरेपछि भएको थियो।समर्थकबीच मच्चिएको हिंसा रोक्न सुरक्षाकर्मीलाई गाह्रो भएको थियो। अश्रुग्यास र पानीको फोहोर प्रहार गरी प्रहरीले फुटबल समर्थकबीचको भिडन्त तितरबितर पारेको थियो।
युरो कप आयोजकहरुका अनुसार मार्सेमा आफ्ना आफ्ना टोलीको पहिलो खेल हेर्न मार्सेमा दुई मुलुकका करिब ९० हजार समर्थक जम्मा भएका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
युरो कपका क्रममा फ्रान्समा फुटबलप्रेमीहरुबीच हिंसा भड्किएको यो तेस्रो पटक हो। फ्रान्सका गृहमन्त्रीले झडप गर्नेहरुले खेलभन्दा अगाडि भएको माहोललाई हिंसाको बाहनाका रुपमा लिए।
युरोपेली फुटबलको सर्वोच्च इकाइ युएफएले हिंसाको निन्दा गर्दै यस किसिमका हिंसाको फुटबलमा कुनै स्थान नहुने उल्लेख गरेको छ। ‘दर्शकहरु यस्तो हिंसाको फुटबलमा कुनै स्थान हुने छैन’, युएफएले भनेको छ।
No comments:
Post a Comment