• Breaking News

    6.11.2016

    धुर्मुस–सुन्तलीलाई गोफण्डमीबाट २७ लाख सहयोग संकलन



    धुर्मुस–सुन्तलीलाई इन्टरनेटको माध्यमबाट सहयोग जुटाउने वेभसाइट गोफण्डमीमार्फत २७ लाख रुपैंया सहयोग संकलन भएको छ ।
    सिन्धुपाल्चोकको गिराञ्चौर एकीकृत बस्ती निर्माणमा जुटेका उनीहरुलाई एक महिनामा २७ लाख रुपैँया सहयोग संकलन भएको हो ।
    सामाजिक अभियान्ता सन्तोष ओझा र सञ्चारकर्मी सरल गुरुङ्गको सहयोगमा गिराञ्चौर एकीकृत बस्ती निर्माणका लागि ५० लाख रुपैँया सहयोग उठाउने लक्ष्यका साथ गोफण्डमीमा खाता खोलिएको थियो ।
    जस अन्तर्गत एक महिनामा संसारभर रहेका नेपाल र नेपालीलाई माया गर्ने ४ सयभन्दा बढी व्यक्तिहरुबाट उक्त सहयोग जुटेको हो । प्रविधिको विकाससँगै सामाजिक काममा सहयोग संकलन गर्न यो वेभसाइटको प्रयोग हुने गर्दछ ।
    गिराञ्चौर एकीकृत बस्ती निर्माणका लागि पनि गोफण्डमी विश्वभरबाट पैसा जम्मा गर्न सकिने खुत्रुके भएकाले यो अभियान सुरु गरिएको सञ्चारकर्मी गुरुङले बताएका छन् ।
    ‘युरोपियन मुलुकमा नेपाल र नेपालीलाई सहयोग गर्न चाहने मानिसहरु धेरै छन’, सामाजिक अभियान्ता ओझा भन्छन्, ‘तर व्यस्तता कारण उनीहरुले सहयोग पठाउन सकिरहेका हुँदैनन् । त्यसैले आफ्नो क्रेडिट कार्डबाट एक क्लीकमै सहयोग गर्न सकिने गरी गोफण्डमीमा खाता खोलेर धुर्मुस–सुन्तलीलाई आफूहरुले सघाएको उनको भनाई छ ।
    गोफण्डमीमार्फत अमेरिकाबाट मुना शाही र माधव दुलालले व्यक्तिगत रुपमा जनही १ लाख रुपैंयाभन्दा बढी सहयोग गरेका छन् ।
    थाइल्याण्डबाट धन गुरुङ्ग, अमेरिकामा रहेका भुटानी शरणार्थीहरुको संस्था कोलोराडो अडल्ट डेकेयर, दीपेन्द्र अधिकारी र चन्द्र कँडेलले जनही ५० हजार रुपैंयाभन्दा बढीे सहयोग गरेका छन् ।
    धुर्मुस सुन्तलीको गिराञ्चौर एकीकृत नमूना बस्ती निर्माणका लागि इन्टरनेटमार्फत सुरु भएको यो अभियानमा परशुराम तिमल्सिना र अमेरिकामा रहेका नेपालीहरुको संस्था बाल्टीमोर असोसिएसन अफ नेपालीज—बानाले सहकार्य गरेका छन् ।
    बानाका अध्यक्ष कुलप्रसाद आचार्यले नेपाली कलाकारले सुरु गरेको यस अभियानमा साथ दिन पाउँदा खुसी लागेको बताए । अमेरिकामा रहेका कलाकार प्रेमराजा महत तथा पर्शुराम तिमल्सिनाले गोफण्डमीमा जम्मा भएको पैसा धुर्मुस–सुन्तली फाउण्डेनको खातामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
    साढे ४ करोडभन्दा बढीको लागतमा निर्माणाधीन गिराञ्चौर एकीकृत बस्तीका लागि गोफण्डमीबाट नसोचेको सहायता जुटेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।
    ५० लाख पुगाउने लक्ष्य अझै पूरा भइनसकेकाले युरोपियन मुलुकमा बस्नेहरुसँग उनले यो लक्ष्य पूरा गर्न सहयोगको अपील गरेका छन् । ‘इन्टरनेटबाटै यति धेरै सहयोग जुटाउन सकिन्छ भन्ने नै थाहा थिएन’, फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) भन्छिन्, ‘तर सन्तोष ओझा र सरल गुरुङले यसबारेमा बताए, अहोरात्र खटे र यो सहयोग जुटाउन सहयोग गरे ।’
    युरोपियन मुलुकको व्यस्ततालाई बुझेर एउटा सानो खुत्रुके खोलेको बताउँदै उनले छिट्टै भरीने अपेक्षा गरेकी छिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र