शनिबार, ४ असार
हुम्ला । स्याँडा–१ का पुल्तीसरा र उनका श्रीमान् चक्र परियारले ९ वर्षमा चार छोरीलाई जन्म दिए । विवाह बन्धनमा बाँधिएको १३ वर्ष भयो ।
‘छोराको आस गर्दागर्दै धमाधम चार छोरी जन्मिए,’ सबैभन्दा कान्छी छोरीलाई काखमा च्याप्दै पुल्तीसरा भन्छिन्, ‘धन्न अरूले जस्तो छोरा चाहिन्छ भन्दै ८/९ जनासम्म छोरी जन्माउन्जेलसम्म कुरिएन, अब बुद्धि खुले बरु घरज्वाइँ राखम्ला छोरा चाहिएन ।’
हुम्लाका विकट गाउँमा पुल्ीतसरा जस्तै थुप्रै परिवार छन्, जो छोरा जन्माउने आसमा उमेर र समय नै नपुगी धमाधम बच्चा जन्माउँछन् । सन्तान बढी भएपछि पठनपाठनमा त समस्या छ नै उनीहरूलाई खुवाउनसमेत यस्ता परिवारलाई आपत्ति पर्छ । विकट जिल्लाका विकट गाउँमा छोरा नजन्मिए अपुतो कहलाउने सामाजिक भयले मानिसहरू धमाधम सन्तान उत्पादन मात्रै गरिरहन्छन् ।
परिवार नियोजनका साधनबारे जानकारी नभएको, स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने ज्ञान नभएको जस्ता कारणले कतिपयले छोराको आसमा सन्तान जन्माउँदा जन्माउँदै मृत्युवरण पनि गर्छन् ।
तर, अब विस्तारै गाउँमा पुल्तीसराजस्ता महिलाहरू छोराको मोहबाट पछि हट्दै छन् । ‘गाउँमा विस्तारै चेतना पलाउँदै गए पनि अझै सामाजिक रूपमा छोराको मोह भने हटिसकेको छैन, हामीले मात्रै कुरो बुझेर भएन नि,’ पुल्तीसराका श्रीमान् चक्र भन्छन् ।
‘गाउँघरमा सुविधा सम्पन्न अस्पताल नहुनु र छोरा जन्मिने आशाका कारण चार छोरी जन्माइएछ,’ चक्र भन्छन् । उनका अनुसार अब भने अर्को सन्तान नजन्माउने दुई जनाबीच सल्लाह भइसकेको छ । ‘छोरो भएन भन्या अपुतो भन्छन्, मरेपछि काजक्रिया गर्ने अन्य कोही हुँदैन, सन्तान जोगाइराख्न छोरा चाहिन्छ भन्ने सामाजिक कुसंस्कारले पनि छोरो जन्मिने आसमा चार छोरी भए,’ पुल्तीसरा थप्छिन् ।
धेरै छोरी भएकोमा उनीहरूलाई पछुतो भए पनि गाउँमा अझै छोराको आसमा आठजनासम्म छोरी जन्माउने पनि रहेको उनीहरू बताउँछन् ।
‘हामी त अब छोराछोरी बराबरी त हुन् भन्छौं तर समाजका मानिस नानाथरी कुरा गर्छन् । अपुतो भन्छन्, त्यही भएर पनि छोरा जन्माउन दबाब आउँछ,’ पुल्तीसराले भनिन् ।
‘चक्र परियार दम्पती मात्र होइन हुम्लामा छोराको आसमा ६ देखि ८ वटीसम्म छोरी जन्माउने चलन अहिलेसम्म कायम नै छ,’ स्थानीय समाजसेवी जनक शाही भन्छन् । उनका अनुसार अशिक्षा, अन्धविश्वास र कुरीतिका कारण छोरा र छोरीबीच विभेद कायम रहेकाले पनि हुम्ला लगायत विकट जिल्लामा सन्तान उत्पादन दर बढेको छ । ‘जबसम्म शिक्षा र चेतना वृद्धिमा राज्यको लगानी हँुदैन तबसम्म छोराछोरीबीचको विभेद हट्दैन,’ अर्का नागरिक अगुवा वसन्त रोकाया भन्छन् ।
छोरा र छोरीबीच विभेद गर्नुहुँदैन भन्ने ज्ञानकै अभावमा चार छोरी जन्मिएका परियार दम्पतीलाई विभेद गर्न नहुने होस खुले पनि अब सन्तालको पढाइ र लालनपालनको चिन्ता छ । ‘हामी एक त दलित अर्को आफ्नो नाममा एक कित्ता पाखो जग्गासमेत छैन, अब समस्याका दिन आउन थालेका छन्, समाजको दबाबले हामी समस्यामा प¥यौं,’ चक्रको दुखेसो छ ।
परियारका चार सन्तानमध्ये जेठी छोरी ४ कक्षामा, माइली छोरी २ कक्षामा र दुईवटी सानै छन् । ‘अहिले बल्लतल्ल छोरीहरूलाई स्कुल त पठाएका छौं तर विद्यालय पोसाक, कापीकलम पु¥याउन सकेका छैनौं,’ चक्र भन्छन् । जिल्ला विकास समितिले उपलब्ध गराएको एउटा सिलाइ मेसिनको भरमा यो परिवारको गुजारा चल्दै छ । राजधानीसँगको एउटा भेटमा उनीहरूले पटकपटक दोहो¥याए, ‘अब हामी छाचुरी (बालबच्चा) जन्माउँदैनौं, बतु (बरु) छोरीकन घरज्वाइँ ल्याइकन घरै राख्छौं ।’ अाजकाे राजधानी दैनिकमा समाचार छ ।
No comments:
Post a Comment