• Breaking News

    6.17.2016

    चीनको स्वार्थ एउटा मात्र छ, भारतका थुप्रै छन्

    चीनको सेफोमा जन्मेर ९ वर्षको उमेरमा अमेरिका पुगेकी जुलिया चाङ ब्लज अमेरिकन इतिहासकै पहिलो ‘एसियन मुलकी’ अमेरिकन महिला राजदूत हुन्।
    सन् १९८९ देखि १९९२ सम्म नेपालका लागि  अमेरिकन राजदूतका रुपमा कार्यरत जुलिया चाङ २०४६ सालको राजतन्त्रविरुद्धको प्रजातान्त्रिक आन्दोलनकी अमेरिकन साक्षी मानिन्छिन्।
    तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच डब्लु बुसले ९ जना राजदूतहरुको नियुक्ति गर्दा ६ जना महिलालाई छानेका थिए। जसमध्ये जुलिया चाङलाई नेपालका लागि अमेरिकन राजदूतका रूपमा पठाइएको थियो।
    संसारभर ‘कम्युनिजम ढल्दै र प्रजातन्त्र उदाउँदै’ गरेका बेला दुई ठूला र महत्वपूर्ण मुलुकबिचमा रहेको नेपालमा एसियन मुलकी अमेरिकन महिलालाई राजदूतका रुपमा नियुक्तिलार्इ अर्थपूर्ण रुपमा हेरिएको थियो।
    नेपालमा प्रजातन्त्रको उदय भएको झण्डै तीन दशक पुग्न लागेको छ। २०४६ सालको प्रजातन्त्रिक आन्दोलनकी एकमात्र अमेरिकन साक्षी मानिएकी जुलिया चाङ ब्लज नेपालको विकास, विवाद र राजनीतिको अहिले पनि निरन्तर ‘अपडेट’ राख्छिन्। र,  नेपालले चाहेजस्तो विकास गर्न नसकेकोमा चिन्ता व्यक्त  गर्छिन्। ‘नेपालमा प्रजातन्त्र उदय भएको तीन दशक पुग्नै लाग्दा पनि जनताले चाहेजस्तो र राज्यले योजना बनाएजस्तो विकासमा फडको मार्न सकेको छैन,' जुलिया भन्छिन्।
    वासिङ्टन डिसीस्थित अमेरिका-चीन एजुकेसन ट्रष्टको कार्यालयमा जुलिया चाङ ब्लजसँग सेतोपाटीका लागि ज्योति देवकोटा र डा. निर्मल पहाडीले गरेको विस्तृत कुराकानी।

    नेपालका लागि पहिलो एसियन मुलुकी अमेरिकन महिला राजदूतका रुपमा भएको तपार्इको नियुक्तिलाई कसरी सम्झनु हुन्छ?
    पहिलो एसियन अमेरिकन मुलकी महिलाका रुपमा मात्र मेरो नियुक्तिलाई सम्झिन चाहन्न। किनकी म अमेरिकन नै हुँ। रह्यो महिलाको विषय, मलाई महिला भएका कारण कमजोर हुन सक्छन् भन्ने पनि कहिल्यै लाग्दैन।  महिला भएकै कारण एकैचोटी राजदूत बनाएको पनि होइन। पिस कोर्सदेखि अन्य धेरै क्षेत्रमा म सक्रिय भएरै लागि रहेकी थिएँ। तत्कालीन राष्ट्रपति जर्ज एच डब्लु बुसको कार्यकालमा मलाई नेपालका लागि राजदूतमा नियुक्त गरेपछि म नेपाल लागे। त्यो वेला राजतन्त्र विरुद्धको प्रजातान्त्रिक आन्दोलनको लहर चलेको थियो नेपालमा। राजनीतिक परिवर्तनको साक्षी भएका कारण सम्झन लायक घटनाहरु धेरै छन्। मेरो पहिलो ‘डिप्लोम्याटिभ’ करियर नेपालबाटै सुरु गरे। सालिन मान्छेहरु र सुन्दर मुलुकका नेपाललाई सम्झन्छु। नेपाल संसारमै राम्रो मुलुक मध्येको एक हो।
    तर, दुर्भाग्य, सुन्दर हिमालजस्तै ठूलो मन भएका नेपालीहरुसँग ‘ट्रयाजीटी’ हरु पनि धेरै छन् र, ति दोहोरिरहेका छन्। सन् १९९६ देखि २०१६ सम्मलाई मात्र सम्झने हो भने पनि धेरै ‘ट्रयाजीटी’ आँखा अगाडि घुम्छन्। दरबार हत्यकाण्डपछि भएको राजनीतिक परिवर्तन, माओवादी समस्याको उल्झन, भूकम्प, नाकावन्दी। यी ‘ट्रयाजीटी’हरुले दु:खी बनाउँछ। 

    २०४६ सालमा प्रजातन्त्रको पक्षमा उठेको आन्दोलनलाई कसरी सम्झनु हुन्छ?
    ओे.. त्यो आन्दोलनको समय, म कसरी विर्सन सक्छु? आन्दोलनको आसपासमा म नेपाल पुगे। नेपाल नपुगुन्जेलसम्म डर थियो। सन् १९६० देखि १९९० को दशकसम्म संसारमा भएका परिवर्तन र विकासका बारेमा नेपाल जानकारविहीन थियो। पञ्चायतकालले नेपाललाई ‘थर्ड वल्ड’बाट टाढा राखेको थियो। जसरी नेपालका बारेमा अन्य मुलुकहरुलाई चासो र जानकारी थिएन,  त्यसैगरी अन्य मुलुकहरुका बारेमा नेपाललाई पनि खासै चासो र जानकारी पनि थिएन।
    वर्लिनको पर्खाल ढलेपछि राजनीति चेतनाको स्तरले पनि जताततै गति लिएको देखिन्थ्यो। ९० को दशकपछि मान्छेहरुमा राजनीतिक चेतना बढ्दै थियो। सन् १९९० को फेब्रुअरी महिनाजस्तो लाग्छ,  नेपाली कांग्रेसले सहयोगी पार्टीसँग मिलेर संयुक्त आन्दोलन गर्ने निर्णय गर्यो। एक महिनाभित्र २ लाख मान्छेहरुलाई जम्मा गरेर काठमाडौंमा मार्चपास गराउने अभियानले नेपालको राजनीतिले पखेटा लगाउन खोजेको आभास हुन्थ्यो। राजनीति तातेको थियो।
    त्यति छोटो समयमा आन्दोलनले निकास पाउला र राजा वीरेन्द्रले नेपाल प्रजातान्त्रिक मुलुक भएको घोषणा गर्लान भन्ने कसैले सोचेकै थिएन। आन्दोलनको घोषणा भएको करिव २ महिनाभित्रै अप्रिल महिनामा हो जस्तो लाग्छ, नेपाल प्रजातान्त्रिक मुलुक घोषणा भएको।

    पञ्चायतको अन्त्य र प्रजातन्त्रको उदयका बेला तपाई साक्षीका रुपमा नेपालमा हुनुहुन्थ्यो। शक्तिशाली मुलुकको राजदूत भएको नाताले यो ऐतिहासिक परिवर्तनलाई सफल पार्न तपार्इको सक्रिय भूमिका थियो भन्न मिल्छ कि, मिल्दैन?
    मेरो व्यक्तिगत भूमिकाले कुनै अर्थ राख्दैन। तर,  संसारको शक्तिशाली मुलुकको उपस्थितिले पक्कै अर्थ राख्छ। त्यसैले राजदूतका हैसियतले मेरो भूमिका कतै थिएन भन्न सक्दिनँ।
    संसारभर तानाशाहहरु ढल्दै गरेको र प्रजातान्त्र उदाउँदै गरेको जुग थियो त्यो। शक्तिशाली मुलुकको राजदूतका हैसियतले म नेपालमा थिए त्यो बेला। नेपालले विकासमा नयाँ फडको मारोस् र नेपाललाई सुहाउँदो र नेपालीले चाहेको संविधान बनोस भन्ने इच्छा अमेरिकाको पनि थियो। अमेरिकाले चाहेको त्यो परिवर्तनको म संवाहक थिए। ‘नेपालको विकास’ बाहेक नेपालमा अमेरिकाको कुनै अर्को ‘डिजाइन’ थिएन। इमान्दार ‘ब्रोकर’का रुपमा अमेरिकाले प्रजातन्त्रका पक्षमा आफ्नो भूमिका निभाएको थियो त्यो बेला।
    फरेन कमिटीका ‘हाउस चेयर’ कंग्रेसम्यान स्टिभ सोलार नेपाल पुगेपछि गिरिजाप्रसाद कोइराला र गणेशमान सिहसँग मैले भेट गराएकी थिए। ‘अब आन्दोलनलाई सफल पार्ने’ भन्ने कुराले हामी सबैलाई उत्साहित बनाएको थियो। तर,  त्यति छिट्टै प्रजातन्त्रको घोषण होला भन्ने कसैले सोचेका थिएनन्। आन्दोलन सफल भयो र राजा वीरेन्द्रले देशमा प्रजातान्त्र आएको घोषणा गरे। त्यसपछिका वर्षमा नेपालले के प्राप्त गर्यो भन्ने कुरा पनि महत्वपूर्ण हो अहिले। नेपालले अहिलेको भन्दा राम्रो विकास ‘डिजर्भ’ गर्छ भन्ने लाग्छ मलाई।

    नेपालका दुर्इवटा शक्तिशाली छिमेकी मुलुक भारत र चीनको उपस्थिति र भूमिका नेपालमा कस्तो पाउनु भयो?
    पृथ्वी नारायण शाहले भनेकै छन्-‘नेपाल दुर्इ ढुंगावीचको तरूल हो।’
    दुर्इवटा ढुंगावीचको तरुल नै हो नेपाल। शक्तिशाली मुलुकका स्वार्थ त अवश्य हुन्छन् नै। तर, चीनको एउटा मात्र स्वार्थ छ। तर, भारतका धेरै स्वार्थहरु छन्। म नेपालमा पुग्दा भारतले नेपालमाथि नाकावन्दी लगाएको थियो। भारतीय उपस्थिति र भूमिका नेपालमा कस्तो छ भन्ने कुरा थाहा पाउन मलाई नेपालमाथि त्यसबेला लगाएको नाकावन्दीले सजिलो बनाइदियो।
    मलाई लाग्छ, नेपाल एउटा स्वतन्त्र मुलुक भएपनि भातरको उपस्थिति र भूमिका धेरै छ। सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक क्षेत्रमा भारतकै प्रभाव बढी भएपछि उपस्थिति र भूमिका पनि सोही अनुसार हुने नै भयो। तर,  राज्यको महत्वपूर्ण अंग राजनीतिक नेतृत्वले भारतकै उपस्थिति र हस्तक्षेपलाई सहजै स्वीकार्दा भारतले पनि आफ्नो भूमिकालार्इ बढाउँदै लगेको हो कि भन्ने लाग्छ। राज्य र राष्ट्रियताप्रति राजनीतिक नेतृत्व बढी जिम्मेवार हुने हो भने भारतीय हस्तक्षेपको समस्या विस्तारै सल्टिदै जान्छ। अहिले पनि भारतकै भूमिका र उपस्थित बढी देखिएको हो भने राजनीतिक नेतृत्व राज्यप्रति इमान्दार नभएको मान्नु पर्छ।
    नेपालको आफ्नो उत्पादन छैन। भारतमाथि आश्रित छ। भारतीय मानसिकता नेपाल भारतमाथि आश्रित भइरहोस् भन्ने नै हो। भारतीय पक्षमा फाइदा हुने विकासबाहेक अन्य क्षेत्रमा भारतले विकास होस् भन्ने चाहँदैन। यो अहिले मात्र देखिएको समस्या होइन।
    चीनको उपस्थित र भूमिका भारतको भन्दा फरक छ।  चीनको प्राइमरी ‘इन्ट्रेस्ट’ नेपाल ‘वफर’ जोन रहिरहोस भन्ने हो। चीनलाई नेपालको सामाजिक, आर्थिक विकासँग खासै लेनादेना छैन। चीनले भारतले जस्तै ‘नेपालमा विकास नहोस्’ भन्ने चाहँदैन। चीनको एउटै मात्र मुद्दा तिब्बत र तिब्वतीयनहरु मात्र हो। नेपालको हिमाली क्षेत्र हुँदै नेपाल आउने तिब्बतीयनहरु नै चाइनाका मुख्य एजेण्डा हुन्।

    नेपालमा अमेरिकाको उपस्थिति कस्तो हो? बाहिर सुनिए झै,  अमेरिकाले नेपाललाई भारतीय आँखाबाटै हेर्ने हो?
    नेपाल स्वतन्त्र मुलुक हो। र, जबसम्म नेपालको अर्को छेउमा चीन रहिरहन्छ तबसम्म नेपाल स्वतन्त्र नै रहन्छ।
    संसारका सबै स्वतन्त्र मुलुकहरुमा अमेरिकाको उपस्थिति र भूमिका जस्तो छ,  नेपालमा पनि त्यस्तै हो। मैले त्यस्तै भूमिका निर्वाह गरेर फर्किएँ। नेपालको विकास,  सम्वृद्धि अमेरिकाको एउटै जेण्डा थियो र अहिले पनि त्यही छ। नेपालमा अमेरिकाको उपस्थितिले सार्थकता त्यतिखेर पाउँछ जव नेपाल सफल र विकसित मुलुक बन्छ। नेपाललाई अमेरिकाले भारतीय आँखाबाट हेर्ने कुरा मैले पनि सुनेकी छु। के नेपाल स्वतन्त्र मुलुक होइन र? नेपाल एउटा स्वतन्त्र मुलुक हो। अमेरिकाले जसरी संसारका अन्य स्वतन्त्र मुलुकहरुलाई व्यवहार गर्छ नेपाललाई पनि त्यसैगरी व्यवहार गर्ने हो। दूतावासमार्फत अमेरिकाको प्रत्यक्ष उपस्थिति नै नेपालमा छ भने फेरि नेपाललाई भारतीय आँखामार्फत किन हेर्नु पर्यो? सन् १९५९ मा नेपालमा अमेरिकन दूतावास स्थापित भयो। यति लामो कुटनीतिक सम्वन्ध भएको मुलुक (अमेरिका)ले भारतको आँखाबाट हेर्छ भन्ने कुराले माने राख्दैन।

    गत वर्ष नेपालको जननिर्वाचित संविधानसभाले नयाँ संविधान जारी गरेको छ,  यसलाई नेपालको राजनीतिक सफलता जोड्न मिल्छ?
    नेपालको यो पहिलो संविधान होइन। म नेपाल हुँदाताका, जनआन्दोलनपछि संविधान आएको थियो। पछिल्लो पटक नेपालको पहिलो सविधानसभाले संविधान जारी गरेको मैले पत्रिकामा पढ्ने मौका पाएँ। तर, विस्तृतरूपमा मैले बुझेकी छैन। केही समुह खुशी छैन भन्ने सुनेकी छु। तरार्इका  वासिन्दालाई समेटिएको छैन भन्ने सुनेकी छु। तर संविधान राज्यका लागि जरुरी थियो। संविधान जारी भयो त्यो महत्वपूर्ण सफलता हो। संविधानविना राज्य कसरी अगाडि बढ्न सक्छ? तर,  सबैलाई मिलाएर लैजान सकियो भने मात्र संविधानको विशेषता अझ झल्किन्छ।
    सेतो पाटी बाट 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र