• Breaking News

    5.20.2016

    ‘त्यही भएर उहाँलाई दाह्री काट्नै दिन्नँ’ कांग्रेस नेता विमलेन्द्र निधिबारे पत्नी अनामिकालाई १०१ प्रश्न

    काठमाडौँ, ८ जेठ
    कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि ‘मिडिया फ्रेन्ड्ली’ नेताका रूपमा चिनिन्छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका उनी कांग्रेसभित्र मधेसी समुदायका प्रभावशाली नेता मानिन्छन् । उनी सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन् । पूर्वमन्त्रीसमेत रहेका निधिका बानी र स्वभावबारे पत्नी अनामिका निधिसँग १०१ प्रश्न सोधेका छन् :

    १. बिहान कति बजे उठ्नुहुन्छ ?
    ठीक पाँच बजे उठ्नुहुन्छ ।

    २. चिया–कफी के रुचाउनुहुन्छ ?
    हामी दुवैजना दूधचिया नै खान्छौँ ।

    ३. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
    पौने घन्टाजति छतमा वाक गर्नुहुन्छ । यो उहाँको रुटिन नै हो ।

    ४. किन छतमा नि ?
    बाहिर त झन् धेरै पोलुसन हुन्छ ।

    ५. योगा पनि गर्नुहुन्छ ?
    योगा त गर्नुहुन्न ।

    ६. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ ?
    साँझमा म छतमा वाक गर्छु, मलाई साथ दिन उहाँ मेरो पछि–पछि हिँड्नुहुन्छ ।

    ७. राति कतिखेर सुत्नुहुन्छ ?
    सामान्यतया साढे नौ–दश बजेभित्र सुतिसक्नुहुन्छ ।

    ८. सुत्नुअघि केही खाने बानी पनि छ ?
    छैन त्यस्तो त ।

    ९. बिहानको खाजामा के खान मन पराउनुहुन्छ ?
    ह्वाइट ओट, अल्मोन्टस्, अलिकति फलफूल लिनुहुन्छ ।

    १०. खानामा के मन पराउनुहुन्छ ?
    रोटी, तरकारी, दाल, दही, अलिकति ब्राउन राइस खानुहुन्छ । सुगरको समस्या छ ।

    ११. दिउँसोको खाजामा के रुचाउनुहुन्छ ?
    उसिनेको मकै, कहिलेकाहीँ गहुँको चिउराको चटपटे र मुरी कचरी बनाइदिन्छु । व्यस्तताका कारण उहाँ दिउँसो घर आउन नपाउने दिन घरमै बनाएको सुगर फ्री मिठाई खल्तीमा राखिदिने गरेकी छु ।

    १२. रातिको खानामा के लिनुहुन्छ ?
    राति पनि रोटी नै हो । कहिले मसला ओट, दलिया, फलफूल खानुहुन्छ ।

    १३. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
    सन्तोष मानेर खानुहुन्छ । आफैँ भएर त कमेन्ट गर्नुहुन्न । तर, सोध्यो भने कमी–कमजोरीचाहिँ प्वाइन्ट आउट गर्नुहुन्छ ।

    १४. कसले पकाउँछ खाना ?
    म हाउस वाइफ त छु, त्यो पनि अरूलाई गर्न दियो भने मैले के गर्नु ?

    १५. कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
    मैले पकाएको नि ।

    १६. किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?
    पस्नुहुन्छ, रोमान्टिक बन्नुहुन्छ । अँगालो हालेर, काँधमा टाउको राखेर ‘के पाक्दै छ आज’ भनेर सोध्नुहुन्छ ।

    १७. सोध्ने मात्रै कि सघाउने पनि गर्नुहुन्छ ?
    त्यहीँ एकछिन गफ गर्नुहुन्छ ।

    १८. आफैँ खाना पकाउन रुचि देखाउनुहुन्न ?
    देखाउनुहुन्न । ‘मैले जेलमा बस्दा कस्तो मीठो खाना पकाउँथेँ, जाऊँ म पकाउन’ भनेर गफचाहिँ दिनुहुन्छ, तर अहिलेसम्म पकाउनुभएको छैन । उहाँले पकाएको मैले चाखेको पनि छैन, मैले पकाउनुस् भनेर भनेकी पनि छैन ।

    १९. के–के पकाउन आउँछ रे उहाँलाई ?
    दालभात, तरकारी । कटहरको तरकारी साह्रै मीठो बनाउनुहुन्थ्यो रे ।

    २०. पकाएर खुवाउनुस् भनेर कहिल्यै भन्नुहुन्न ?
    भनेकी छैन ।

    २१. तपार्इंले पकाएको सबैभन्दा मीठो कुन परिकार मान्नुहुन्छ ?
    कोलकाताको माछा, घिउमा पकाएको खसीको मासु एकदमै मीठो मान्नुहुन्छ । पहिला माछा त्यति रुचाउनुहुन्थेन । मसँग बिहे गरेपछि एकदमै मीठो मान्न थाल्नुभएको छ ।

    २२. कसरी नि ?
    मेरो माइती कोलकाता हो । बिहे भएपछि उहाँले ‘बंगाली श्रीमती भएपछि जहाँ जाँदा पनि माछा नै खुवाउँछन्’ भन्नुहुन्थ्यो । तर, अचेल मैले पकाएको माछा एकदमै मीठो मान्नुहुन्छ ।

    २३. तपाईंंहरूको बिहे कहिले भएको हो ?
    २०४८ साल असार ७ गते बिहे गरेका हौँ ।

    २४. प्रेम विवाह कि मागी विवाह ?
    खासमा हाम्रो लभ म्यारिज नै त होइन, तर एक–अर्कालाई मन पराएर नै बिहे भएको हो ।

    २५. पहिलोपल्ट कहाँ भेट भएको दुईजनाको ?
    मेरी दिदी दीपशिखाको नेपालमै बिहे भएको थियो, उहाँ अहिले माननीय हुनुहुन्छ । भिनाजु धु्रव शर्मा जनकपुरमै डाक्टर हुनुहुन्थ्यो । दसैँका वेला म दिदीको घरमा घुम्न आएका वेला उहाँसँग पहिलोपल्ट भेट भएको हो ।

    २६. पहिलोपल्ट देख्दा तपाईंलाई कस्तो लाग्नुभयो ?
    राम्रो लाग्नुभयो । कुर्ता–पाइजामा र हाफ फतुवा लगाउनुभएको थियो, हल्का दाह्री थियो । राम्रो देखिनुभएको थियो । शालीन स्वभाव थियो ।

    २७. कुराकानी कसरी भयो ?
    दसैँका वेला पारिवारिक जमघटजस्तो थियो । त्यहाँ पनि उहाँले गजल गाउनुभयो । त्यहीँ चिनजान भयो । म कोजाग्रत पूर्णिमाका दिन फर्किंदै थिएँ, उहाँले ‘कोजाग्रतकै दिन नफर्किनू, बस्दा राम्रो हुन्छ नि’ भनेर भन्नुभयो ।

    २८. त्यसपछि भेटघाट–संवाद भइरह्यो कि टुट्यो ?
    म फर्केपछि त कहाँबाट भेटघाट हुनु ? अमेरिकाको संविधानका बारेमा अध्ययन गर्ने एउटा कार्यक्रमका लागि उहाँ अमेरिका जानुभएछ । पछि त्यहीँबाट कोलकाता हाम्रो घरमा फोन गर्नुभयो । म छक्क परँे ।

    २९. के भन्नुभएको थियो त्यतिवेला, अहिले याद छ ?
    किन नहुनु नि ? मैले ‘के गर्दै हुनुहुन्छ अमेरिकामा’ भनेर सोधेपछि उहाँले ‘यहाँको संविधानको बारेमा अध्ययन गर्न आएको, अब फर्केपछि हामी पनि संविधान बनाउँछौँ र तिमीलाई पनि नेपाली नागरिक बनाउँछु’ भन्नुभयो । मलाई त्यो बहुत रमाइलो लाग्यो ।

    ३०. प्रेमप्रस्ताव कसले पहिला राख्नुभयो ?
    त्यस्तो प्रस्ताव नै राख्नुपरेन । उहाँँले ‘तिमीलाई नेपाली नागरिक बनाउँछु’ भनेर घुमाउरो शैलीमा सबै कुरा भन्नुभयो । म पनि मास्टर पढ्दै गरेकी थिएँ, नबुझ्ने कुरै थिएन । एक किसिमले साइलेन्ट लभ थियो । त्यसपछि पनि वेला–वेला फोन गरिराख्नुहुन्थ्यो । कुनै मान्छेले किन यसरी फोन गरिराखेको छ भन्ने त सजिलै बुझ्न सकिन्छ नि (हाँसो) ।

    ३१. अनि, घरमा बिहेको कुरा कसरी चल्यो त ?
    मेरो भिनाजुले घरमा प्रस्ताव ल्याउनुभयो । ‘केटा राम्रो छ, मलाई पनि मन परेको छ’ भन्नुभयो ।

    ३२. बुबाआमाले सजिलै मान्नुभयो ?
    उहाँहरूले मलाई पनि सोध्नुभयो, मैले पनि ठिकै छ भनेँ ।

    ३३. त्यसपछि त दुईजनाको भेटघाट हुन थाल्यो होला नि ?
    भएन । उहाँ उता आउनुभएन, म यता आइनँ । एकैपटक बिहेमा भेट भयो । बिहेअघि त्यहीँ दिदीको घरमा एकपल्ट मात्रै भेट भएको थियो ।

    ३४. बिहे कहाँ गर्नुभयो ?
    बिहे त जनकपुरमै भयो । उहाँहरू यताबाट जाँदा धेरै जानुपथ्र्यो । हामी नै उताबाट आयौँ र दिदीको घरमा बिहे भयो ।

    ३५. तपाईंहरू जनकपुर आएपछि पनि बिहेअघि भेट भएन दुईजनाको ?
    भएन । बरु, उहाँको बुबा (महेन्द्रनारायण निधि) सगुन लिएर आउनुभएको थियो ।

    ३६. ससुराले के भन्नुभयो त ?
    मैले पकाएको एक कप चिया खानुभयो, आशीर्वाद दिनुभयो । अनि ‘विमलेन्द्रले ठीक केटी रोजेछ’ भन्नुभयो । उहाँ कांग्रेसको नेता हुनुहुन्थ्यो । बिहेको पार्टीमा पनि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका कांग्रेसका सबै नेता आउनुभयो, कोइरालाहरू मात्रै आउनुभएन ।

    ३७. कोलकाताबाट बिहे गरेर जनकपुर आउनुभयो, परिवारमा घुलमिल हुन कत्तिको गाह्रो भयो ?
    मलाई सबैले माया गर्नुहुन्थ्यो, त्यसैले घुलमिल हुन धेरै अप्ठ्यारो भएन । सबैभन्दा पहिला मैले मैथिली र नेपाली भाषा सिकेँ ।

    ३८. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?
    अहिले त केही पनि खानुहुन्न ।

    ३९. पहिला चुरोट खानुहुन्थ्यो ?
    पहिला त चेन स्मोकर नै हो रे, दिनमा एक बट्टा सक्काउने । बिहे हुनुअघि नै छाड्नुभएको हो ।

    ४०. खैनी पनि खानुहुन्थ्यो ?
    खैनी त बिहेपछि पनि खानुहुन्थ्यो । घरमा कुना–कुनामा लुकाएर राख्नुहुन्थ्यो । मैले पनि छाड्न भनँे । अचेल त्यो पनि खानुहुन्न ।

    ४१. रक्सी खानुहुन्छ कि खानुहुन्न ? कुन रक्सी खानुहुन्छ ?
    साथीभाइहरूसँग बसेका वेला, पार्टीहरूमा खानुहुन्छ । ब्ल्याक लेबल, सिवास रिगल खानुहुन्छ ।

    ४२. रक्सीले मातेपछि कहिलेकाहीँ झगडा पर्छ कि पर्दैन ?
    पर्दैन । दुई पेगभन्दा धेरै खानुहुन्न । पिएपछि त झन् ‘इन्टिलेक्च्युअल’ बन्नुहुन्छ ।

    ४३. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
    बाहिर हेर्दा त्यस्तो देखिनुहुन्न है ? तर, साह्रै रोमान्टिक हुनुहुन्छ ।

    ४४. कतिवेला रोमान्टिक मुडमा देखिनुहुन्छ ?
    राजनीतिक सफलता पाउँदा, घरपरिवार, साथीभाइलाई राम्रो हुँदा ह्याप्पी बन्नुहुन्छ ।

    ४५. उहाँले दाह्री पालेको तपाईंलाई मन पर्छ कि पर्दैन ?
    एकदमै मन पर्छ नि । त्यही भएर त मैले उहाँलाई दाह्री काट्न नै दिन्नँ ।

    ४६. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?
    सिनेमा हेर्न त एकदमै मन पराउनुहुन्थ्यो । पहिला–पहिला धेरै हेर्नुहुन्थ्यो ।

    ४७. कस्ता फिल्म रुचाउनुहुन्छ ?
    अधिकांश चर्चित सिनेमाहरू, सामाजिक कथा भएका सिनेमा हेर्नुहुन्छ ।

    ४८. टेलिभिजनमा पनि हेर्नुहुन्छ ?
    कहिलेकाहीँ हेर्नुहुन्छ । मैले रोजेको सिनेमा बाध्य भएर पनि हेर्नुहुन्छ । रिमोट मेरै हातमा हुन्छ ।

    ४९.  परिवारका सदस्यसँग बसेर फिल्म कति हेर्नुहुन्छ ?
    कहिलेकाहीँ हेर्नुहुन्छ ।

    ५०. बूढाबूढी सँगै हलमा गएर सिनेमा कत्तिको हेर्नुहुन्छ ?
    हेर्छौँ कहिलेकाहीँ ।

    ५१. पछिल्लोपटक कुन सिनेमा हेर्नुभयो ?
    ठ्याक्कै याद छैन । तीन–चार वर्ष भयो नहेरेको ।

    ५२. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
    पहिला त हेर्नुहुन्थ्यो । सरकार ढलेपछि त्यसमा ब्रेक लागेको छ ।

    ५३. कुन सिरियल हेर्नुहुन्थ्यो ?
    बालिका बधु हेर्नुहुन्थ्यो ।

    ५४. गीत कत्तिको सुन्नुहुन्छ ?
    ए, गीत त एकदमै सुन्नुहुन्छ । उहाँले धेरै सुन्ने गजलहरू हो, पुराना गीतहरू पनि सुन्नुहुन्छ ।

    ५५. कसका गजलहरू धेरै सुन्नुहुन्छ ?
    मेहन्दी हसन, गुलाम अलीका सुन्नुहुन्छ । पहिला–पहिला त गजल लेख्नु पनि हुन्थ्यो ।

    ५६. कति लेख्नुभएको छ गजल ?
    धेरै लेख्नुभएको छ, जेलमा हुँदा, बाहिर हुँदा उहाँले लेखेका केही डायरी अहिले पनि राखेकी छु । जवान हुँदा त के–के लेख्नुभएको होला नि (हाँसो) ।

    ५७. गुनगुनाउने कत्तिको गर्नुहुन्छ ?
    एकदमै गुनगुनाउनुहुन्छ । कहिलेकाहीँ त हामी सुत्दाखेरि ओछ्यानमा पनि गीत–गजल गुनगुनाउँदै सुत्छौँ ।

    ५८. कस्तो गाउनुहुन्छ ?
    एकदमै मीठो गाउनुहुन्छ, उर्दु शब्दहरू बहुतै राम्रो गरी समात्नुहुन्छ । ‘चन्दन सा बदन, चञ्चल सा चित्त मन…’ उहाँले धेरै गुनगुनाउनुहुन्छ ।

    ५९. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
    सचेत नै हुनुहुन्छ । लुगा त उहाँले सबै मैले रोजेको र दिएको मात्रै लगाउनुहुन्छ । बारअनुसार ‘कलर’ मिलाएर लुगा दिने गर्छु । कहिलेकाहीँ म किचनमा छु र उहाँ बाथरुमबाट नुहाएर निस्कनुभयो भने पनि लुगा नलगाएर ‘टावेल’ लपेटेर मात्रै बस्नुहुन्छ । लुगाका लागि मलाई कुरेर बस्नुहुन्छ ।

    ६०. कुन बार कस्तो रङको लुगा दिनुहुन्छ ?
    (हाँसो) आइतबार पहेँलो, सोमबार रातो, शनिबार कालो रङको लुगा लगाउन दिने गर्छु ।

    ६१. किन नि बारअनुसार रङ छुट्याउनुभएको ?
    केही धार्मिक मान्यता, केही रोजाइ हो ।

    ६२. के लगाउन रुचाउनुहुन्छ ?
    कहाँ कस्तो कार्यक्रममा जाँदै हुनुहुन्छ, हेरी–हेरी हुन्छ । सामान्यतया कोट, बन्डी, कुर्ता, पाइजामा मन पराउनुहुन्छ ।

    ६३. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
    जान्नुहुन्न । अहिलेसम्म लगाउनुभएको छैन । सधैं हामीले लगाइदिन्छौँ ।

    ६४. आफ्नो लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?
    धेरै त मैले नै किनिदिन्छु । कहिलेकाहीँ दुईजना सँगै गएर पनि सपिङ गर्छौँ ।

    ६५. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?
    यही ब्रान्ड भन्ने छैन । कम्फर्टेबल र राम्रो भए हुन्छ ।

    ६६. आफ्नो तलब तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
    जम्मै मलाई नै ल्याएर दिनुहुन्छ ।

    ६७. आफूले कत्ति पनि राख्नुहुन्न ?
    मैले नै उहाँको पर्स हेरेर राखिदिन्छु ।

    ६८. कति दिनुहुन्छ पकेटखर्च ?
    पाँच हजारजति राखिदिन्छु ।

    ६९. खर्च केमा गर्नुहुन्छ ?
    धेरै खर्च नै गर्नुहुन्न । गाडीमा तेलको व्यवस्थापन पनि मैले नै हेरिदिन्छु । ड्राइभर, सहयोगी, पिएसओहरूलाई चिया–खाजामा त हो नि खर्च हुने । समय हुँदा उहाँ खाजा खान घरमै आउनुहुन्छ ।

    ७०. पैसाको बारेमा बूढाबूढीबीच कहिल्यै किचलो भएको छ कि छैन ?
    छैन त्यस्तो त ।

    ७१. रिसाउने बानी कति छ ?
    एकदमै छैन भन्दा पनि हुन्छ । बरु, ‘किन रिसाउनुहुन्न’ भनेर उल्टै म रिसाउँछु (हाँसो) ।

    ७२. कस्ता कुरामा रिसाउनुहुन्छ ?
    रिसाउनु नै हुन्न के । कहिलेकाहीँ सामान्य मात्र हो ।

    ७३. रिसाएपछि के गर्नुहुन्छ ?
    नबोलेर, पत्रिका पढेर, एफएम सुनेर बस्नुहुन्छ ।

    ७४. रिसाएपछि कसले पहिला फकाउँछ ?
    उहाँ ‘खाना के पाक्दै छ’ भनेर बोल्न आउनुहुन्छ ।

    ७५. अरूको रिस घरमा कत्तिको रिफल्याक्ट हुन्छ ?
    हुँदैन त्यस्तो त ।

    ७६. रिसले वा मायाले तपाईंलाई कहिल्यै पिट्नुभएको छ ?
    छैन ।

    ७७. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?
    ‘बाबु’ भन्नुहुन्छ ।

    ७८. तपाईंले चाहिँ के भनेर सम्बोधन गर्नुहुन्छ ?
    मैले पनि ‘बाबु’ नै भन्छु ।

    ७९. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?
    दिनुहुन्छ वेला–वेलामा । पफ्र्युम, कपडा, घडी दिनुहुन्छ ।

    ८०. विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ?
    केही न केही त ल्याइदिनु नै हुन्छ । जिल्लाहरूमा जाँदा पनि ल्याउनुहुन्छ । सिन्धुली जानुभयो भने जुनार ल्याएर आउनुहुन्छ, त्रिशूली जानुभयो भने माछा ल्याउनुहुन्छ ।

    ८१. जन्मदिन, म्यारिज एनिभर्सरीमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?
    एकदम सम्झेर विस गर्नुहुन्छ, उपहार दिनुहुन्छ ।

    ८२. उहाँले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार के हो ?
    साडीहरू छन्, मैले अहिले पनि राखेकी छु ।

    ८३. सहयोगी कत्तिको हुनुहुन्छ ?
    एकदमै सहयोगी हुनुहुन्छ । एकदमै इमोसनल हुनुहुन्छ, मेरो दु:खको कुरा भन्नैपर्दैन, मलाई के चाहिन्छ आफैँ बुझ्नुहुन्छ ।

    ८४. भान्सामा के गरेर सघाउनुहुन्छ ?
    भान्सामा त आएर एकछिन गफ गर्नुहुन्छ ।

    ८५. लुगा धुन कहिल्यै सघाउनुभएको छ कि छैन ?
    उहाँले सघाउन खोजे पनि मैले उहाँलाई गर्न दिएकी छैन, अह्राएकी छैन ।

    ८६. तपाईंका लुगामा कहिल्यै आइरन गरिदिनुभएको छ ?
    त्यो पनि छैन ।

    ८७. कुनै काम पनि उहाँलाई गर्न दिनुहुँदो रहेनछ, किन नि ?
    माया लाग्छ उहाँको (हाँसो) ।

    ८८. परिवारलाई कति समय दिनुहुन्छ ?
    समय व्यवस्थापन उहाँको एकदमै राम्रो छ । पार्टी, कार्यकर्ता, परिवार सबैलाई समय मिलाउनुभएको छ ।

    ८९. परिवारलाई कति वेला समय दिनुहुन्छ ?
    यतिवेला नै भन्ने छैन । बिहान, दिउँसो, बेलुका मिलाउनुहुन्छ ।

    ९० जोकहरू सुन्ने–सुनाउने कत्तिको गर्नुहुन्छ ?
    ए एकदमै हुन्छ । मैले पोलिटिकल जोक, गसिप सुनाउँछु, मन खोलेर हाँस्नुहुन्छ । उहाँले पनि जोकहरू सुनाउनुहुन्छ ।

    ९१. पार्टीका कुराहरू तपाईंसँग कत्तिको सेयर गर्नुहुन्छ ?
    भन्नुहुन्छ, तर म धेरै चासो राखेर कोट्याउँदिनँ । हाम्रो त एकदम स्पष्ट कुरा छ, मेरो किचनमा उहाँले र उहाँको राजनीतिमा मेरो कुनै हस्तक्षेप वा आग्रह हुँदैन । फेरि अहिले कुनचाहिँ राजनीतिक कुरा बाहिर नआएर लुकेको हुन्छ र ? बाहिरैबाट थाहा हुन्छ भने उहाँलाई किन कोट्याउने (हाँसो) ?

    ९२ भनेपछि उहाँ घर आउनुभन्दा अगाडि नै तपाईं ‘अपडेट’ भइसक्नुहुन्छ ?
    पढेलेखेकी मान्छे हुँ, राजनीतिक घटनाक्रममा अपडेट भइहालिन्छ नि । त्यसमाथि एउटा राजनीतिज्ञकी पत्नी हुँ, स्वाभाविक रूपमा चासो राखिहाल्छु नि ।

    ९३. विदेश जाँदा तपाईंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?
    एकदमै मन पराउनुहुन्छ । ‘तिमी भयौ भने सजिलो हुन्छ’ भन्नुुहुन्छ ।

    ९४. कुन–कुन देश सँगै जानुभएको छ ?
    धेरै ठाउँ गइयो । युरोप, अमेरिका, जापान, स्विट्जरल्यान्ड, थाइल्यान्ड धेरैतिर गइयो ।

    ९५. सँगै विदेश जाँदा घुमघाम–रमाइलो कत्तिको गर्नुहुन्छ ?
    उहाँले जानुअघि नै त्यताको कार्यक्रम र घुमघामको सेड्युल बनाउनुहुन्छ । कार्यक्रम, त्यहाँ रहेका नेपाली साथीभाइसँगको भेटघाटपछि घुमघाम हुन्छ । अमेरिका जाँदा एकपटक समुद्री तटमा गएका थियौँ, त्यहाँ रमाइलो गरिरहेका सबैको लुगा त्यहीँको वातावरणअनुसार थियो, पूरा लुगा लगाउने हामी मात्रै थियौँ ।

    ९६. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
    एकदमै पढ्नुहुन्छ, हरेक दिन घरमा डेढ–दुई किलो पत्रिका आउँछन् । सबै पत्रिकाका सम्पादकीय पनि पढ्नुहुन्छ ।

    ९७. टेलिभिजनमा समाचार कत्तिको हेर्नुहुन्छ ?
    बिहान र बेलुका हेर्नुहुन्छ । एफएममा समाचार सुन्नुहुन्छ ।

    ९८. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
    केही प्रतिक्रिया नै जनाउनुहुन्न । मैले ‘यस्तो आएछन् नि’ भनेर पनि भन्छु, तर उहाँले केही भन्नुहुन्न ।

    ९९. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
    घरमा त होइन, कहिलेकाहीँ पोलिटिकल कुराहरूमा अडान राख्नुहुन्छ ।

    १००. कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?
    उहाँलाई ठीक लागेका कुरामा तर्कसहित प्रस्तुत हुनुहुन्छ ।

    १०१. त्यस्तो वेला सम्झाउन कत्तिको गाह्रो हुन्छ ?
    तर्कसहित कन्भिन्स गर्नुपर्छ । मिहिनेत गर्नुपर्छ ।
    नयाँ पत्रिकाबाट

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र