• Breaking News

    9.19.2015

    मोदी अब तिमी आफै आए पनि केही हल्लिदैन

                                                        -कृष्ण आचार्य
    शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर आएका एस जयशंकर नेपाल आउँदा हातभरी लड्डु लिएर जाने सोचेका थिए होलान् । उनले सोचेका थिए होलान् नेपालको राजनीति भारतको हातमा छ, मोदीको हातमा छ । तर, यसो भएन । भारतले यसअघि नेपालमाथि गर्दै आएको हुकुमी शासन यसपटक लाद्न नसकेपछि मोदीले दूत नै पठाउनु पर्यो तर, नेपालको स्वाभिमानसामू उनको केही लागेन । लागोस् पनि कसरी उनी संविधानको बिरुद्धमा थिए । अहिलेको वर्तमान अवस्थामा जो संविधानको बिरोधी हुन्छ त्यो सिंगो राष्ट्र र जनबिरोधी कहलिन्छ । किन भने लामो समयको त्याग र तपस्यापछि नेपालमा नेपाली जनताले चाहेको नेपालको संविधान निर्माण हुँदै छ । अब संविधान जारी हुने काम मोदीका दूत त के स्वयंम मोदी नै आए पनि रोकिदैन । किन भने नेपालले धेरैपटकमात्र होईन प्रत्येक पटक आफ्नो स्वाभिमानमाथि भारतसँग सम्झौता गर्नु परेको छ । जसमा नेपाललाई भन्दा भारतलाई फाईदा पुग्दै आएको छ भने भारतले त्यसैको आडमा नेपालमाथि आफ्नो हुकुमी शासन लाड्दै आएको छ जुन कुरा हामीले विगतदेखिे नै महसुस गरिरहेका छौँ ।
    यसको पछिल्लो उदाहरण नेपालमा लामो समय र नेपाली जनताको चाहना अनुरुप बन्न लागेको नयाँ संविधानमा भारतले हस्तक्षेप गर्न खोज्नु हो । भारतले भनेको सर्वसम्मतीमा संविधान जारी गर भन्ने कुराले यतिबेला शंकामात्र उठाएको छैन भारत के चाहन्छ भन्ने कुरा पनि प्रष्ट भएको छ । किन भने यतिबेला मधेसीले उठाएका मागहरु निरर्थक छन् । उनीहरुसँग न त कुनै एजेण्डा नै छ न त कुनै सार्थक विचार र दृष्टी नै । यतिबेला उनीहरुले चर्काएको आन्दोलनको प्रकृति मधेसलाई विखण्डन गर्ने बाहेक अरु केही देखिदैन । यसको उदाहरण प्रमुख दलले उनीहरुलाई र्वार्ता र सहमतिका लागि पटक–पटक आग्रह गर्नु तर उनीहरु र्वार्ता र सहमतिमा आउन नचाहनु हो । भने यसको निष्कर्ष उनीहरु कहीकतैबाट संचालित छन् भन्ने हो । किन भने यदी उनीहरु साच्चि नै मधेसीका लागि, मधेसीको हकहितका लागि, नेपालका लागि लडिरहेका छन् भने नयाँ संविधान सबै समुदायका मानिसलाई समेटेर निर्माण हुन लागेका छ यसमा आपत्ति जनाउनु पर्ने ठोस कुरा छैन । यदी त्यसमा मधेसीका केही मुद्धा छुटेका छन् या राखिनु पर्ने छन् भने त्यसलाई र्वार्ता र सहमतिबाट हल गर्ने बाटो पनि छ । यदी मागहरु जायज छन् र त्यसले मधेसी लगाएत सिंगो मूलुकको भलो गर्छ भने मलाई लाग्छ दलका नेताको त्यसमा कुनै विमति हँुदैन । किन कि लामो समयपछि लामो समयसम्मका लागि बन्न लागेको संविधानलाले सबैलाई समेटेर लानुपर्छ र सबैका हक–अधिकर समेटिनु पर्छ भन्ने निर्माणकर्ताको चाहना छ र हुनुपर्छ । तर, नेपाललाई कुनै पनि बाहानामा विखण्डन गर्ने कुरामा न त कुनै सहमति हुन सक्छ न कुनै सम्झौता ।
    पक्कै पनि यतिबेला राजनीतक दलका प्रमुख नेता भारतबाट थाकेको हुनुपर्छ । त्यसैले पनि भारतीय राजदूत देखि लिएर मोदी दूतले पनि उनीहरुको एकतालाई हल्लाउन सकेनन् । मोदी दूत प्रधानमन्त्री देखि एमाले अध्यक्ष र एमाओवादी अध्यक्ष जो हाल संविधान निर्माणको प्रमुख पहरेदार हुन् उनीहरुलाई भेटेर निराश हुनुपर्यो । किन भने दूतको मागमा नेपाल बिरोधी, राष्ट्रघाति र षड्यन्त्रको गन्ध आउने खालको थियो । नत्र दशकौं पछि बन्न लालेको संविधान निर्माण प्रक्रिया रोक भनेर असल मित्र राष्ट्रले पक्कै भन्दैन होला । भन्ने भए भारत जति नै नेपालको विकासमा सहयोग गर्दै आएको चीनले किन भनेन ? नेपालमा संविधान बन्दा भारतले गोहीको आँसु बगाउने चीनले किन खुसीको ?
    मोदी दूतले शुक्रबार निकै दौडधूप गरे । उनको आगमनसँगै गच्छदारसँग हुन लागेको सहमति पनि भाँडियो । मधेसी दलले अझ बढी चर्का कुरा गर्न थाले । भने तीन दलका प्रमुख नेतालाई पनि केही न केही दबाब सिर्जना भयो । भने संविधान जारी हुन लागेको अन्तिम घडीमा सबै नेपाली शसंकित हुनु पर्यो र जारी नहुँदासम्म हुनेछन् पनि । तर, अब हामीले बुझ्नु पर्ने कुरा के छ भने नेताहरु नेपालीको ईच्छा, चाहना अनुरुप सबैको हक–अधिकार समेटिएको नयाँ संविधान जारी गर्ने अन्तिम घडीबाट पछि हट्नेवाला छैनन् । चाहे त्यसका लागि मोदीका दूत आउन् चाहे मोदी नै किन नआउन् ।
    अर्को कुरा मोदी दूतले बिहारमा हुन लागको चुनावलाई नेपालमा बन्ने संविधानले प्रभाव पार्ने भएका कारण मधेसीलाई मिलाएर लग्न र संविधान बिहार चुनापछिमात्र जारी गर्न आग्रह गरेछन् । उनलाई डर रहेछ यदी कतै मधेसको आन्दोलन चर्कियो भने बिहारको चुनावमा प्रभाव त पर्दैन भन्ने । तर, यति लामो समयपछिको त्याग र तपस्यापछि बन्न लागेको संविधान जारी बिहारको चुनावपछि गर्नुभन्दा यदी त्यस्तो डर छ भने उनीहरु बिहारको चुनाव सारुन् न । नेपालको संविधान महत्वपूर्ण कि कुनै एक प्रान्तमा हुन लागेको चुनाव ? यी सबै कुरालाई विश्लेषण गर्ने हो भने थुप्रै शंका र सवालहरु उठ्छन् । पछिल्लो समय नेताहरुले देखाएको जनताप्रतिको वफादारिता सधै कायम रहोस् र यसअघिको भारतप्रतिको वफादारि सधैका लागि अन्त्य होस् । राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रतामाथि कसैको हस्तक्षेप मान्य नहोस् र त्यसमा सहमति पनि नहोस् । जे होस् जनताको हित, देशको भलाई र राष्ट्रिय अखण्डताका लागि होस् ।
    kathmandutoday.


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र