• Breaking News

    8.26.2015

    अपराधीको कुनै जात हुँदैन, हिंसालाई जातसँग नजोडौं–शान्ता चौधरी

    टीकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो । थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो । थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिंसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन । यो अपराध हो । यो सबैको छानवीन होस । थारु समुदायले अरुको अधिकार खोस्ने होइन । थारुमा पनि धनी र गरिब छ । धनीको एउटा जात र गरिबको अर्को जात बुझौं । पूरै समुदायलाई दोष नदिउँ । अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायको साथ लिनुपर्छ । देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं।
    थारु नेपालको प्राचीन समुदाय हो । बुद्धको सन्तान भनेर हामी गर्व गर्छौ । यो देश सबै समुदायको हो, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा छ । धेरैवटा जातिको नेपाल भनेर गर्व गरौ‌ । मिलेर बसौं । थारु कसैका सत्रु होइनन् । जातीय आक्षेप कसैले कसैलाई नलगाउँ । देश हाम्रो साझा हो । जातीय राजनीतिले भलो गर्दैन ।

    म थारु समुदायको हूँ र थारुलाई बदनाम गर्न खोजिँदा दुख लाग्छ । अपराधी जुन जातमा पनि हुन्छन । हिंसा हत्या गर्ने मानिसलाई जातीय आँखाले नहेरौ‌ । कुनै विशेष जातको मानिसले हिंसा गर्यो नभनौं । जातिलाई दोष नदिऔ । अपराधीको जात हुँदैन । अहिले साम्प्रदायिक आगो लगाउन खोजिँदैछ । जनतालाई हिंसामा उतार्न खोजिदैछ । सबै सचेत हुनुपर्छ र सबै खालका आन्दोलन शान्तिपूर्ण गर्न अपिल छ ।

    अहिले देशमा चलिरहेको आन्दोलन र आन्दोलनको बहानामा सुनियोजित रुपमा चलाउन खोजिएको हिँसामा कैयन नेपाली जनताको ज्यान गएको छ । प्रहरीहरु सहित दूध खाने शिशुको ज्यान गएको छ । आमाको कोख उजाडिएको छ । यस्ता घटनाले कसैलाई फाइदा गर्दैन ।हिँसाको डढेलो सल्काउँदा डढेलो सल्काउनेलाई पनि डढाउँछ । हिँसा गरेर भलाई हुन्छ भनेर आजको युगमा कल्पना पनि गर्न सकिदैन ।

    यो क्रममा अहिले मृत्यु हुने हरेक नेपालीको जीवन उत्तिकै मूल्यवान छ । उहाँहरुको मृत्युले देशले ठूलो क्षति भोगेको छ । उहाँहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । उहाँहरुको मृत्यु र हिँसाले नेपाल आमा रोएकी छिन् । सबै जाती समुदाय मिलेर बस्नुको विकल्प छैन । नयाँ संविधानमा आफ्ना माग राख्न सबै स्वतन्त्र छन् र हामी थारु समुदायलाई पनि त्यो अधिकार छ । कुनै पनि आन्दोलनको बहानामा हिँसा मच्चाउनेहरुबाट सम्पूर्ण जनता सजग हुनुपर्छ र सरकार झनै चनाखो हुनुपर्छ ।
    (टीकापुर घट्ना पछि पूर्व सभाषद एवं एमाले नेतृ चौधरीले फेसबुकमा व्यक्त गरेको विचार । )

    भिडियो हेर्न तल क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र