कैलालीको टीकापुर नगर क्षेत्रमा थरुहटका प्रदर्शनकारीले गरेको आक्रमणबाट वरिष्ठ प्रहरी उपरीक्षकसहित सात प्रहरी र दुईवर्षीय एक बालकको मृत्यु भएको छ । कैलालीका प्रजिअ राजकुमार श्रेष्ठले प्रदर्शनकारीले टीकापुरमा लगाइएको निषेधाज्ञा तोड्दै सुरु गरेको आक्रमणबाट सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको मृत्यु भएको जानकारी दिए ।
प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले थप एक शव घटनास्थल नजिकको खेतमा फेला परेको भए पनि शवको सनाखत हुन नसकेको बताए । आक्रमणमा परी टीकापुर नजिकको मुनुवा गविस–६का दुई वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको छ ।
प्रदर्शनकारी प्रत्येक व्यक्तिले लाठी भाटा, हँसिया, भालालगायत घरेलु हतियार बोकेर प्रदर्शन गर्दै एक साथ प्रहरीमाथि जाइलागेपछि प्रहरी हताहत भएका थिए । थरुहट स्वायत्त प्रदेश लेखिएको सूचनापाटी टीकापुर क्षेत्रका सरकारी कार्यालयमा टाँग्ने योजनासहित आएका प्रदर्शनकारीले एकाएक निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि जाइलागेको बताइएको छ ।
प्रहरीमाथिको आक्रमणपछि भएको झडपका क्रममा नेपाल प्रहरीतर्फ १७ र सशस्त्र प्रहरी तर्फ २१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको टीकापुर अस्पातालले जनाएको छ । घाइतेलाई स्थानीय टीकापुर अस्पतालमा भर्ना गरिएको छ ।
स्थानीय प्रत्यक्षदर्शी सुमन धितालले प्रदर्शनकारीले छापामार शैलीमा एकसाथ आक्रमण गरेका बताए । घटनामा प्रदर्शनकारीतर्फ तीन जनाको मृत्यु भएको जनाइए पनि साँझसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।
यसअघि सहायक प्रजिअ उदयबहादुर सिंहले टीकापुरमा आज भएको घटनामा नेपाल प्रहरीतर्फ पाँच, सशस्त्र प्रहरीतर्फ ११ र प्रदर्शनकारीतर्फ तीन जनाको मृत्यु भएको जानकारी दिनुभएकामा केही समयपछि जिल्ला प्रशासन कार्यालयले घटनामा भएको मानवीय क्षतिबारेको तथ्याङ्क सच्याएको छ ।
थप प्रहरी र सेना परिचालित
घटनालगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकमा भएको सहमतिबमोजिम टीकापुर क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गर्दै स्थिति नियन्त्रण बाहिर जान नदिन थप प्रहरी परिचालन गरिएको छ । सरकारको निर्देशनबमोजिम टीकापुर र आसपासका क्षेत्रमा आजैदेखि नेपाली सेनासमेत परिचालन भएको छ ।
प्रदर्शनकारीले आक्रमणका क्रममा अत्याधुनिक हतियार ‘सट गन’को समेत प्रयोग गरेको आशङ्का गरिएको प्रत्यक्षदर्शी धितालले बताए ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार मात्रै बसेको आन्दोलनरत थरुहट पक्ष, अखण्ड सुदूरपश्चिमका प्रतिनिधि र विभिन्न राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मीलगायतको संयुक्त बैठकले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाए पनि आज थरुहट पक्षले हिंसात्मक प्रदर्शन गरेको हो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment