• Breaking News

    8.18.2015

    भारत र चीन मनाएर ज्ञानेन्द्र चाहन्छन् हिन्दूराष्ट्र

    काठमाडौँ, १ भदौ ।
    बैंकक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रको बसाइ एक हप्ता पुगिसकेको छ । बुधबार उनी त्यसतर्फ उडेका थिए । आफ्ना निजी सचिव सागर तिमल्सिनालाई मात्रै लिएर गएका ज्ञानेन्द्र शाह बैंककको पाँचतारे सांग्रिला होटलमा बसेका छन् । काठमाडौं विमानस्थलबाट बाहिरिँदाको उनको पहिरन र हाउभाउ हेर्दा उनी कुनै कूटनीतिक वार्तामा जाँदैछन् भन्ने प्रष्टै देखिन्थ्यो ।
    पूर्वराजा ज्ञानेन्द्रनिकट स्रोतका अनुसार अहिले ज्ञानेन्द्रले कमल थापालगायतका राजावादीहरुलाई पनि विश्वास गर्न छाडिसकेका छन् । पूर्वसेनापति रुक्माङ्गत कटवालले गणतन्त्र स्वीकार गरेको र आफूलाई अन्तिम अवस्थामा साथ नदिएको गुनासो उनले सुनाउने गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका सल्लाहकारहरुले नेपालमा संविधान निर्माणको अन्तिम समय भएकाले अहिले कूटनीतिक पहल बढाउनुपर्ने सुझाव दिए । पुराना सल्लाहकारहरुलाई विश्वास गर्न छाडेका ज्ञानेन्द्र शाहले बैंककको सांग्रिला होटलमा भारतीय, चिनियाँ र युरोपियन युनियनका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
    प्राप्त समाचारअनुसार उनी आफैंले वार्ताको नेतृत्व गरेका छन् । बैंककस्थित शाही परिवारसँग निकट व्यक्तिहरुलाई पनि यसपटक उनले भेटेका छैनन् । उनका छोरा पारस शाहलाई बैंककस्थित नेपालीहरुले नै बिगारेको उनको आशंका र आरोप छ । त्यस्तै उनले यो भ्रमणमा बैंककस्थित नेपाली राजदूत खगनाथ अधिकारीलाई पनि कुनै जानकारी दिएका छैनन् ।
    ज्ञानेन्द्रले नेपालका नेताहरु संघीयताको सीमांकन, नामांकनसहित धर्मनिरपेक्षताका कुरामा एकमत हुन नसकेका, पार्टीभित्र पनि व्यापक गुटबन्दी भएकाले आफू सक्रिय हुने वातावरण बनेको विश्लेषण गरेका छन् । त्यस्तै भारत र चीन दुवै आफ्ना रुचि पूरा गर्न धेरै पार्टी र नेताहरुसँग संवाद गर्दै हैरान भएकाले कुनै न कुनै तरिकाले आफ्नो शक्ति विस्तारको वातावरण बनेको उनको अर्को विश्लेषण छ ।
    युरोपियन युनियनसँग पनि आफ्नो पछिल्लो संवाद बढाएको बताउने ज्ञानेन्द्र शाहले बैंकक वार्तामा आफ्नो कुनै पनि प्रकारको सत्ता फर्किएमा युरोपियन युनियनको रुचि पूरा गर्न आफू प्रतिबद्ध भएको एजेन्डा राखेका छन् । बैंकक वार्ताको उनको मुख्य एजेन्डा भारत र चीनलाई मनाएर कुनै पनि प्रकारको हिन्दू राष्ट्र घोषणा गराउने र त्यसका लागि युरोपियन युनियनलाई तटस्थ राख्ने रहेको छ । दोस्रो स्टेपमा कुनै पनि प्रकारको राजतन्त्र फर्काउने उनको योजना छ । बैंकक भ्रमण सफल भएको उनको ठहर रहेको समाचार जनआदेश साप्ताहिकले लेखेको छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र