• Breaking News

    8.23.2015

    ‘मारेपछि म ठूलो मन्त्री हुन्छु, तलाई मन्त्री बनाउँछु’

    काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने अभियुक्त सञ्जय स्माइली मगरलाई साउदीबाट नेपाल ल्याइएको छ । मन्त्री बन्ने सपनामा आफूले बमलाई गोली हानेको उनले बयान दिएका छन् ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मगरलाई आइतबार साउदीबाट पक्राउ गरी काठमाडौं ल्याएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
    उनले प्रहरीसँग न्यायाधीश हत्या गरेपछि चुरे भावर पार्टी सरकारमा जाने र त्यसपछि मन्त्री पाइने आश्वासनमा बमलाई गोली हानेको बताएका छन्।
    ‘बाबु थापाले न्यायाधीशलाई मारेपछि म ठूलो मन्त्री हुन्छु, तलाई मन्त्री बनाउँछु भनेको थियो’, मगरले भने,‘मन्त्री बनेपछि प्रशस्तै पैसा पनि कमाइने प्रलोभनमा परेर गोली हानेको हुँ।’
    चुरे भावर पार्टीका नेता बाबु थापा भनिने मेघबहादुर थापाको योजनामा न्यायाधीश बमको १८ जेठ ०६९ मा ललितपुरको युएनपार्कनजिकै गोली हानेर हत्या भएको थियो।
    बंगलामुखी मन्दिर दर्शन गरी कार्यालयतर्फ जानेक्रममा उनी चढेको गाडी रोकेर गोली हानिएको थियो। बमलाई गोली हान्नेमध्ये प्रमुख व्यक्ति मगर भएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लले बताए।
    ‘गाडी रोकेपछि पिएसओले छेक्न खोज्दा पिएसओलाई नै गोली हानी घाइते बनाएर न्यायाधीशमाथि सञ्जयले गोली हानेका थिए,’ डिआइजी मल्लले भने। चुरे भावर पार्टीको आधिकारिता विवादमा न्यायाधीश बमले आफूलाई हराएको प्रतिशोध लिन थापाले उनको हत्या गर्ने योजना बनाएका थिए।
    बमको हत्या गरेपछि पार्टी चर्चित हुने र आफूहरू मन्त्री बन्ने योजना थापाले बनाएको र त्यही योजनामा लागेर बमलाई गोली हानेको मगरले बताएका छन् ।
    तर, बमको हत्यापछि मगरले जागिरसमेत नपाएपछि वैदेशिक रोजगारीमा २८ मंसिरमा साउदी अरेबिया गएका थिए।
    त्यहाँ ट्रकड्राइभर भएर उनले काम गर्दै आएका थिए। नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा कूटनीतिक पहल गरी मगरलाई साउदीबाट नेपाल ल्याएको हो।
    नेपाल प्रहरीको आग्रहमा साउदी प्रहरीले गत चैतमा मगरलाई पक्राउ गरेको थियो। त्यहाँको अदालतले डिपोर्ट गर्न अनुमति दिएपछि नेपाल प्रहरीको टोली साउदी गएर उनलाई ल्याएको हो।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र