• Breaking News

    8.16.2015

    संविधानसभामा ‘एक सेकेण्ड’ को जुहारी

    काठमाडौँ, साउन ३१ – व्यवस्थापिका–संसद्को आजको बैठकमा पनि विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।
    छलफलअन्तर्गत सहरी विकास, सिँचाइ, ऊर्जा, सूचना तथा सञ्चार, शिक्षा र वन तथा भूसंरक्षण मन्त्रालय छवटा मन्त्रालयमाथिको छलफलमा भाग लिने सांसदले सम्बन्धित मन्त्रालयका भावी योजना तथा कार्यक्रमबारे समयाभावका कारण विस्तृत रुपमा आफ्ना विचार प्रस्तुत गर्न पाएनन् ।
    चारदेखि सात मिनेटभित्रमा छवटा मन्त्रालयसँग सम्बन्धित विषयमा उहाँहरूलाई आफ्ना कुरा भन्न समयको ज्यादै अभाव भएको थियो । सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई सात मिनेट दिइएको थियो भने अन्यलाई सबैभन्दा कम समय चार मिनेट उपलब्ध गराइएको थियो ।
    सभामुख सुवास नेम्वाङले सम्बन्धित सांसदलाई उपलब्ध गराएको समय समाप्त हुनेबित्तिकै भनाइ टुङ्ग्याउन निर्देशन दिँदा केहीले ‘एक सेकेन्ड मात्र’ भन्दै अनुनय गरेपछि सभामुखले ‘एक सेकेन्डमा के भन्नुहुन्छ म पनि हेर्छु’ भनेपछि उहाँहरू धन्यवाद भन्दै वाक्य पूरा नगरी बीचमै आफ्ना आसनमा फर्कनुपरेको थियो ।
    नेकाकै ज्ञानेन्द्रबहादुर कार्की ऊर्जा मन्त्रालयमा मात्रै केन्द्रित हुनुभयो भने नेकपा –एमाले०का राजेन्द्र पाण्डे शिक्षा मन्त्रालयमा सीमित रहे । उहाँहरूले पर्याप्त समय नपाउँदा त्यस्तो भयो ।
    सांसद कार्कीले अन्धकारबाट उठ्न बिजुली र सांसद पाण्डेले अज्ञानबाट मुक्ति पाउन शिक्षाको विकासमा लाग्नुपर्ने आदर्शका कुरा गर्दै सम्बन्धित मन्त्रालय र मन्त्रीले काम कम भाषण ज्यादा गरेका टिप्पणी गरे।
    एनेकपा (माओवादी)का सुरेन्द्रकुमार कार्कीले सरकारका बस्ने नीति निर्माताहरुले विदेश र विशेष गरी अमेरिका केही दिन बसेर आई उतैका गफ धेरै दिने गरेका र कागजी घोडामात्र दौडाउने गरेका भन्दै मन्त्रालयगत छलफलमा प्रवेश नै गर्नुभएन । “छ मिनेटमा छवटा मन्त्रालयमा कसरी छलफल गर्ने ?” छलफलमा भाग लिनुअगावै उनले प्रश्न गरे ।
    राप्रपा नेपालकी लीलादेवी श्रेष्ठले एकजना शिक्षकले चारपाँचवटा कक्षामा पढाउनुपर्ने अवस्था रहेको र सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँलाई दिइएको समय पनि शिक्षा मन्त्रालयका बारेमा बोल्दा नै समाप्त भयो ।
    थोरै समयमा छवटा मन्त्रालयबारे बोल्नुपर्दा सांसदहरु कुन मन्त्रालयलाई प्राथमिकता दिने भन्नेमा नै अन्योलमा पर्नुभएको थियो । सभामुखले पटक पटक समय सकियो भन्दै दिने जनाउ घन्टीले बोल्दाबोल्दै टुङ्ग्याउनुपर्ने बाध्यताले आज बोल्ने सांसदहरुलाई पिरोलेको थियो
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र