काठमाडौँ, २ भदौ ।
आफूबाट भएको केही गल्तीका कारण एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक रूपमा कमजोर बन्दै गए । पाँच मुख्य भूलका कारण प्रचण्ड ओरालो लाग्दै गएका हुन् ।
१. कार्यकर्ता व्यवस्थापनमा असफल
जब शान्ति प्रक्रियामा माओवादीको पदार्पण भयो, लामो समय नबित्दै त्यो आन्दोलन क्रमश: विघटनतर्फ गयो । आफ्ना कार्यकर्ताको व्यवस्थापन र उनीहरूलाई कुनै न कुनै राजनीतिक काम दिएर व्यस्त राख्नुपर्ने थियो । तर, जान/अन्जान नेतृत्वले कार्यकर्ताको व्यवस्थापन गर्नै चाहेन वा सकेन ।
शीर्ष नेताका वरिपरि चतुर खेलाडीहरू हावी भए । केही नेतालाई कामको चाप भ्याइनभ्याइ भयो । कतिपय स्थायी समिति, पोलिटब्युरो सदस्यसमेत बेरोजगार भए । वर्षौंदेखि समर्पण, त्याग देखाएका नेता–कार्यकर्ता जिम्मेवारीबाट विमुख र अनुत्पादक भएर बस्नुभन्दा कुनै न कुनै उत्पादनमा लाग्नु नै उपयुक्त हो भन्ने सोचेर पार्टीबाट निस्क्रिय बस्न थाले । निस्क्रिय भएकाहरूलाई जिम्मेवारीमा फर्काउने प्रयत्न भएन । कुचोले बढार्नुपर्ने कसिंगर हावाले बढारेर ठीक गर्यो जसरी हेरियो ।
२. आमजनताका नेता हुन सकेनन्
गरिब, निमुखाहरूको जीवनस्तर उकास्ने कसम खाएर माओवादी द्वन्द्वमा हेलिएको थियो । समाजमा हुने खाने र हुँदा खाने दुई वर्ग रहेकाले त्यसको अन्त्य गर्नुपर्ने उनीहरूको रटान थियो । तर, शान्ति प्रक्रियामा सहभागी भएपछि प्रचण्ड स्वयं हुने खाने वर्गमा रूपान्तरित भए ।
सरकारमा जान नहतारिनु भनेर सुझाव दिने समर्थक पंक्तिलाई त्यहाँ अनुभव बटुलेर राज्यसत्ता कब्जा गर्नेजस्ता लटर–पटर कुरा गरेर टार्यो । जनजीविकाका मुद्दा छायाँमा पार्यो । उत्पीडित जाति, भाषा, क्षेत्र, लिंग, किसान, मजदुरका जर्जर समस्या उठान गर्ने शक्तिका रूपबाट कट्दै गयो । फलत: प्रचण्ड स्वयंको वर्ग रूपान्तरण भएपछि आन्दोलनका उपलब्धिहरू किनारामा पर्दै गए ।
३. अस्पष्ट कार्यदिशा
माओवादीभित्र लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पूरा भइसकेपछि अबको कार्यदिशा के हो भन्ने विषयमा ठूलो बहस हुनुपथ्र्याे । त्यसलाई खुट्याउन सक्नु पथ्र्यो । तर, ०५१ मा बनाएको बाटोको अन्त्य हुँदासम्म प्रचण्डमा अबको कार्यदिशा कस्तो हुने भन्ने छटपटी देखिँदैन । यसैको परिणाम माओवादीभित्र विभाजित हुने, पुरानै बाटोतिर फर्कने प्रयास गर्ने, निष्क्रिय बस्ने, छटपटाउने अवस्था देखिएको हो, जुन स्वाभाविक पनि छ । किनभने, हिँडिरहेको बाटोको अन्त्य भएपछि यस्तो हुनु अनौठो होइन ।
४. क्रान्ति हाँक्ने वैचारिक अस्पष्टता
प्रचण्ड–बाबुरामले जनवादी क्रान्ति पूरा भएकाले समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताइरहेका छन् । मोहन वैद्य–सीपी गजुरेलले जनवादी क्रान्ति नै पूरा नभएको जिकिर गरिरहेका छन् । नेत्रविक्रम चन्द कम्पनी हिंसातिरै फर्कनुपर्ने गीत गाइरहेको छ । तर, प्रचण्डले समाजवादी क्रान्तिको आधार के हो ? यसको मोडल कस्तो हो र कसरी सफल हुन्छ ? समाजवादमा पार्टी र नेतृत्व प्रणालीको विकसित रूप कस्तो हुने भन्नेजस्ता गहन प्रश्नको उत्तर दिएका छैनन् । फलत: एमाओवादीभित्र ठूलो वैचारिक समस्या देखिन्छ ।
५. माओवाद नै फापेन कि !
माक्र्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्त डेढ सय वर्षकै हाराहारीमा किन असफल भयो त ? माओवादीले माओको निधनपछिको ४० वर्षको अझ गहिरो समीक्षा गर्नुपर्ने हो । माओवादीहरू एकातिर मालेमावादलाई विज्ञान भनेर व्याख्या गरिरहेका छन्, अर्कातिर उनीहरूले व्याख्या गरेको विज्ञान पटक–पटक असफल भइरहेको छ ।
लगातार असफल हुने विज्ञान हुनै सक्तैन । लगातार असफलतापछिका कारण दुई मात्र हुन सक्छन् । एक, कि त त्यो विज्ञानमै ठूलो खोट छ । दुई, कि त्यो विज्ञानलाई लागू गर्ने नेतृत्व वैज्ञानिक छैन । फलत: माओवादबारे पुन:व्याख्यामा प्रचण्डले रुचि देखाएनन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment