नयाँ संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा धर्मनिरपेक्षताविरुद्ध दलका नेता–कार्यकर्तादेखि सामाजिक संघसंस्थासम्म मोर्चाबन्दीमा उत्रिएका छन् ।
नेपाली काँग्रेसभित्र नेता खुमबहादुर खड्का नेतृत्वको समूह र सयभन्दा बढी हिन्दूवादी समूह बेग्लाबेग्लै संगठित भएका छन् । राप्रपा नेपाल सुरुदेखि हिन्दू राज्य बनाउने अभियानमा छ । त्यसका लागि उसले आन्दोलनको घोषणा नै गरिसकेको छ । काँग्रेस नेता खड्काको समूह र हिन्दूवादी संस्थाहरुको मोर्चा पनि आन्दोलनको तयारीमा छन् ।
भ्रष्टाचार अभियोगमा जेल सजाय भोगेका खड्काले ‘सनातन हिन्दू राष्ट्रका लागि महाअभियान’को आवरणमा बिहीबार काँग्रेसको बृहत् भेला बोलाएका छन् । जसमा काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालासहितका शीर्ष नेता, वर्तमान र पूर्वकेन्द्रीय सदस्य र सांसदहरु, पार्टीका जिल्ला सभापति र भातृ संगठनका अध्यक्षलाई निम्त्याइएको छ । काँग्रेसले भूमिका नदिएका लक्ष्मण घिमिरे, तारानाथ रानाभाट, अधिवक्ता कुमार रेग्मी, पत्रकार देवप्रकाश त्रिपाठीलगायत अभियानको नेतृत्वतहमा छन् ।
‘अहिले काँग्रेसका नेता–कार्यकर्तालाई मात्र बोलाइएको हो, एमाले, एकीकृत माओवादी र अरु पार्टीबाट यो अभियानमा सामेल हुन इच्छा देखाउनेहरुको संख्या बढिरहेको छ,’ समितिका प्रचार संयोजक त्रिपाठीले भने, ‘सार्क सम्मेलन सकिएपछि अभियानमा संलग्न हुन चाहने सबै पक्षलाई समेटेर अघि बढ्छौ“ ।’ त्रिपाठीको विश्वमा अधिकांश शीर्ष नेता र कार्यकर्ता व्यक्तिगत रुपमा अभियानको पक्षमा छन् । ‘ काँग्रेसका आम नेता–कार्यकर्ता हामीले उठाएको एजेन्डामा सहमत छन्, त्यसकारण सक्कली नेता र कार्यकर्तासँग काँग्रेस पार्टी रहनेछ,’ उनले भने, ‘हिमाल, पहाड, तराईका जनतालाई सांस्कृतिक रुपमा जोड्ने एक मात्र एजेन्डा हिन्दू राष्ट्र हो । हाम्रो सशक्त अन्तर्राष्ट्रिय पहिचान पनि यो मात्रै हो ।’
बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भेलाले आन्दोलन तय गर्ने त्रिपाठीले बताए । पार्टीभित्र र संविधानसभामा सनातन हिन्दू राष्ट्रका पक्षमा सुरुमा लबिङ गर्ने, तर पार्टीले आत्मसात् नगरे आन्दोलन गर्ने समितिको तयारी छ । दोस्रो संविधानसभा चुनावमा काँग्रेस र एमाले हाबी हुनु र भारतमा नरेन्द्र मोदीको उदयले हिन्दू राष्ट्रका पक्षमा बोल्ने वातावरण तयार भएको खड्का समूहको निष्कर्ष छ । काठमाडौंमा प्रत्यक्ष निर्वाचनतर्फ काँग्रेसले र समानुपातिकतर्फ राप्रपा नेपालले ल्याएको मतका कारण पनि काँग्रेस धर्मनिरपेक्षताबाट पछि हट्नैपर्ने सो समूहको विश्लेषण छ ।
राप्रपा नेपालको तयारी
संविधानसभाको अघिल्लो चुनावदेखि नै राप्रपा नेपालले आफूलाई हिन्दू राष्ट्रका पक्षमा उभ्याएको थियो । हिन्दूत्वकै मुद्दाका कारण्ँ दोस्रो संविधानसभा निर्वाचनमा उसले समानुपातिकतर्फ २५ सिट पाएको थियो । २५ कात्तिकदेखि देशभर हिन्दू जागरणअन्तरक्रिया अभियान चलाउन निर्णय राप्रपा नेपालले गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७ मंसिरसम्म हस्ताक्षर संकलन गर्ने निर्णय गरेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार राप्रपा नेपालले ‘सनातन धर्म, सापेक्ष हिन्दू राष्ट्रका लागि विभिन्न व्यक्ति समूह र संस्थालाई समट्ने योजना बनाएको छ ।
राप्रपा नेपालले हिन्दू राष्ट्रवाला मुद्दा उठाएका समूहहरुसँग वार्ता गर्न २६ असोजमा सहअध्यक्ष केशरबहादुर विष्टको नेतृत्वमा जनार्दन आचार्य, ऋषिबाबु परियार, सीता लुइँटेल, रामकुमार सुब्बा, पवित्रा श्रेष्ठ सुब्बा सदस्य रहेको वार्ता समिति गठन गरेको थियो । राप्रपा नेपाल राजासहितको हिन्दू राष्ट्रका पक्षमा रहे पनि तत्काल राजसंस्थाको पुनर्बहालीको एजेन्डा उसको प्राथमिकतामा छैन ।
एक सय ३० संस्थाको मोर्चाबन्दी
सयभन्दा बढी हिन्दूवादी संघसंस्थाले पनि आन्दोलनका लागि मोर्चाबन्दी गरेका छन् । गत १५ र १६ कात्तिकमा कोटेश्वर महादेव मन्दिरमा भएको हिन्दू संस्थाहरुको बृहत् भेलाले नौबुँदे घोषणापत्र जारी गर्दै आन्दोलनमा जाने निर्णय गरेको छ । भेलाको अगुवाइ पूर्व नायब बडागुरुज्यू डा. माधव भट्टराईले गरेका थिए । भेलाले सनातन हिन्दू मोर्चा गठन गर्दै हिन्दू राष्ट्रका पक्षमा आन्दोलन गर्न ७१ सदस्यीय केन्द्रीय समिति र १३ सदस्यीय कार्यसम्पादन समिति बनाएको भट्टराईले बताए ।
‘धामिर्क क्षेत्रबाट दबाब दिनुपर्ने निष्कर्षसहित एक सय ३० संघसंस्था मिलेर मोर्चाबन्दी गरेका छौँ,’ भट्टराईले भने, ‘अब बन्ने संविधानमा धर्मनिरपेक्षता टिक्दैन भन्ने कुराको सन्देश जानेवाला छ ।’ उनका अनुसार मोर्चामा पण्डित, साधुसन्त, ज्योतिषीहरु सहभागी छन् । हिन्दू राष्ट्रकै लागि तराईमा राजसंस्थावादी बृहत् समूह गठन गरेका किशोरी महतो, जानकी मन्दिर र मटिहानी मन्दिरका महन्थ सक्रिय छन् । सो समूहमा रामबाबु प्रसाईं, दिलविकास राजभण्डारी, दीनबन्धु अर्याललगायत पनि सामेल छन् ।
विश्व हिन्दू महासंघ भूमिकाहीन देखिएको छ । पूर्वअध्यक्ष भरतकेशर सिंह महासंघलाई सक्रिय गराउने पक्षमा छन् । तर, विगतमा पूर्वराजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राट घोषणा गरेपछि विवादमा आएका उनी हिन्दू समुदायमा आलोचित छन् ।
पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेका दुवै राप्रपा पनि हिन्दू राष्ट्रका पक्षमा उभिएका छन् । नयाँदिल्ली पुगेका राणाले एक साताअघि सार्वजनिक रुपमा नै हिन्दू राष्ट्रका पक्षमा अभिव्यक्ति दिएका थिए । चन्दले नेतृत्व गरेको राप्रपाका प्रवक्ता वसन्तमानसिंह अधिकारीले हिन्दू राष्ट्रका पक्षमा भएका आन्दोलनमा आफ्नो दलको नैतिक समर्थन रहने बताए ।
भाजपा र आरएसएसको नैतिक समर्थन
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र त्यसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले नेपालमा हिन्दूवादी अभियानलाई नैतिक समर्थन गरेका छन् । दुई साताअघि नयाँदिल्ली गएका काँग्रेस नेता खुमबहादुर खड्का, हरिबोल भट्टराई, कुमुद लोहनीलगायतले भाजपा अध्यक्ष अमित साह र आरएसएस अध्यक्ष मोहन भागवतलाई भेटेका थिए ।
स्रोतहरुका अनुसार भाजपा नेताले अहिले नै सार्वजनिक रुपमा हिन्दू राष्ट्रका पक्षमा अभिव्यक्ति दिन नसक्ने, तर अभियानलाई नैतिक समर्थन रहेको धारणा राखेका थिए । खड्काको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न खोजे पनि सम्भव भएन । गृहमन्त्री एवं भाजपा पूर्वअध्यक्ष राजनाथ सिंहले पनि तत्कालै पार्टी र सरकारले हिन्दू राष्ट्रका पक्षमा धारणा राख्न नसक्ने बताएका थिए ।
जानकारहरुका अनुसार भाजपा नेता राजनाथ सिंह र अध्यक्ष अमित साह पनि नेपाल हिन्दू राष्ट्र होस् भन्ने पक्षमा छन् । आरएसएस अध्यक्ष भागवत, प्रधानमन्त्री मोदी, पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयी हिन्दू गणतन्त्रका पक्षमा छन् । मोदीले काठमाडौं आएका वेला व्यवस्थापिका–संसद्मा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ भनेर सम्बोधन गरेका थिए ।
यसरी आएखुमबहादुर
खुमबहादुरले यो अभियानको नेतृत्व नलिने इच्छा राखेका थिए । तदर्थ समितिको पहिलो बैठकमा खड्काले नेता कुलबहादुर गुरुङलाई संयोजक प्रस्ताव गरे, तर गुरुङ तयार भएनन् । त्यसपछि खड्काले तारानाथ रानाभाटलाई प्रस्ताव गर्दा रानाभाटले खड्काकै नेतृत्वमा अभियान चलाउनुपर्ने प्रस्ताव गरेका थिए ।
‘गोविन्दराज जोशीका कारण गुरुङ तयार हुनुभएन, रानाभाटसमेत तयार नभएपछि बाध्य भएर खुमबहादुरजीले नेतृत्व लिनुपरेको हो,’ समितिका एक सदस्यले भने । गुरुङ जोशी गुटमा छन् । स्रोतका अनुसार रानाभाटकै प्रस्तावमा नेता लक्ष्मण घिमिरे सहसंयोजक बन्न तयार भएका हुन् । खड्का र घिमिरेबीच कहिल्यै राम्रो सम्बन्ध थिएन ।
काँग्रेसको पछिल्लो महासमिति बैठकमा चार सयजना सदस्यले हिन्दू राष्ट्रका पक्षमा ज्ञापनपत्र दिएका थिए । खड्काले त्यसका लागि पनि अगुवाइ गर्नेछन् ।
– नयाँ पत्रिका
No comments:
Post a Comment