• Breaking News

    9.29.2014

    युवा संघका केन्द्रीय सदस्य गुण्डागर्दीमा, सिडियो भन्छन्, ‘कि गुण्डा रहन्न, कि प्रहरी रहन्न’

    खोटाङ, १३ असोज । गुण्डागर्दी गर्दै हिँड्ने युवा सङ्घका केन्द्रीय सदस्यविरुद्ध चार वटा मुद्दा दर्ता भएको छ ।
    खोटाङको दोर्पाचिउरी डाँडा–५ घर भएका युवा सङ्घ नेपालका केन्द्रीय सदस्य दिलचक्र भनिने दिलकुमार राईविरुद्ध चार वटा मुद्दा दर्ता भएको हो ।
    उनले एकै दिन गत भदौ १७ गते फरकफरक ठाउँमा चारजनालाई गालीगलौज तथा कुटपिट गरेका थिए । कुटपिटमा संलग्न ऊलगायत अन्य पाँचजनाविरुद्ध फरकफरक व्यक्तिले दिएको चार वटा सार्वजनिक मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो – “उजुरी पर्नासाथ फरार रहेकाहरुविरुद्ध हद म्याद पुर्जी जारी गरिएको छ ।”
    दिलचक्रलगायतका व्यक्तिले बिनाकारण आफूलाई गालीगलौज गर्दै निर्घात कुटपिट गरेको भन्दै नेर्पा–८ का धनप्रसाद बाँस्तोला, बाँझेच्यानडाँडा–१ घर भएका सडक विभागका सव–इन्जिनियर प्रदीप राई, भोजपुरका डम्बरबहादुर विश्वकर्मा र नेर्पा–८ का दिलबहादुर विश्वकर्माले आफ्नो ज्यान सुरक्षा तथा घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।
    भदौ २५ गते परेको धनप्रसाद बाँस्तोलाको जाहेरीले दिलकुमार राई, जोशीचन्द्र राई, नवीन गुरुङ, भीमबहादुर गुरुङ र रामबहादुर गुरुङ, असोज ७ गते परेको प्रदीप राईको जाहेरीले दिलकुमार राई र मोतिराज राई, असोज ६ गते परेको डम्बरबहादुर विश्वकर्माको जाहेरीले दिलकुमार राई, भीमबहादुर राई र रामबहादुर राई तथा असोज ७ गते परेको दिलबहादुर विश्वकर्माको जाहेरीले दिलकुमार राई, भीमबहादुर गुरुङ र रामबहादुर गुरुङविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका नायब सुब्बा लीलाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितहरुले दिएका सबै मुद्दामा दिलकुमार राईलाई नै मुख्य दोषी मानिएको छ ।”
    उनको हमलाबाट गम्भीर घाइते बनेका सव–इन्जिनियर राईसहित चारैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
    दिलकुमारलगायत उनका साथीहरुले बाटोमा भेटेजतिलाई कुट्दै हिँडेको प्रहरीले जनाएको छ । पछिल्लो समय ठेक्कापट्टाको काम गर्दै आएका उनले दिक्तेलबाट घरतर्फ जाने क्रममा उनीहरुलाई फरकफरक ठाउँमा कुटपिट गरेका थिए ।
    एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका राईले यसअघि पनि एक कार्यालय प्रमुखलाई आफ्नै गेष्ट हाउसमा लगेर निर्घात कुटपिट गरेका थिए । योजनाको काम नगरी निकासा माग्दा नदिएपछि पूर्वाञ्चल सव–डिभिजन कार्यालय खोटाङका प्रमुख एकराज भट्टराईलाई आफ्नै गेष्ट हाउसमा लगेर निर्घात कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न ऊलगायत अन्य दुईजनालाई प्रहरीले पक्राउ गरे पनि एमाले नेताहरुको दबाबमा छाडिएको थियो ।
    एमालेका तत्कालीन जिल्ला अध्यक्ष विशाल भट्टराई, अञ्चल कमिटी सदस्य पिके राईलगायतको दबाबमा तत्कालीन प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले निर्घात कुटिइएका कार्यालय प्रमुख भट्टराईलाई उल्टै माफी मगाएका थिए ।
    यसरी राजनीतिक संरक्षणमा बस्दै आएका राई हाल काठमाडौँमा रहेको स्रोतको दाबी छ । विभिन्न घटनामा संलग्न हुँदै आएका राई नेताहरुकै संरक्षणका कारण काठमाडौँमा खुलेआम हिँडिरहेका छन् ।
    ऊविरुद्ध मुद्दा परेपछि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई अन्यत्र सरुवा गर्न माग गर्दै गृहमन्त्रालयमा एक टोलीसमेत गएको स्रोतको दाबी छ ।
    स्रोतका अनुसार प्रशासनमा सार्वजनिक मुद्दा दर्ता भएलगत्तै भागेर काठमाडौँ पुगेका दिलकुमारलाई संरक्षण गर्न सभासद् विशाल भट्टराईको नेतृत्वमा गृहमन्त्रीसमक्ष उक्त टोली गएको हो ।
    यता, प्रमुख जिल्ला अधिकारी सापकोटाले गुण्डागर्दी नियन्त्रण गर्न अभियान नै चलाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “जिल्लामा कि गुण्डा रहन्न, कि प्रहरी रहन्न ।” रासस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र