• Breaking News

    9.01.2014

    डिआइजी सिफारिशमाथि काण्डै–काण्ड

    काठमाडौं । नेपाल प्रहरीमा रिक्त डिआईजी पदमा बढुवाका लागि मध्यरातमा १३ जना एसएसपी सिफारिश भएका छन् । सरकारद्वारा गठित सिफारिश समितिले दुई दर्जन प्रतिस्पर्धीबाट १३ जनालाई सिफारिश गरेको हो । बढुवामा सिफारिशमा परेका धेरै विभिन्न काण्डमा मुछिएका छन् ।
    Nepal Police Logo
    डिआइजी बढुवामा परेका एसएसपीहरूमा रामकुमार खनाल, मनोहरप्रसाद रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाल छन् ।

    लामो समयको अन्योलपछि सरकारले तीन हप्ता अघि एआईजी बढुवा गरेपछि नेपाल प्रहरीको अन्य पदमा बढुवाको बाटोे खुलेको थियो । बढुवाका लागि आईजीपी उपेन्द्रकान्त अर्यालकै व्याजीका पाँचजना एसएसपी लाइनमा रहे पनि खनाल, रिमाल र खड्का मात्र परे ।

    यी पाँचमध्ये खनाल आईजीपी अर्यालका नजिक मानिन्थे । पूर्व आईजीपी अच्यूतकृष्ण खरेलको पालामा प्रशासन महाशाखा प्रमुख बनेर ‘तरमारे’का खनाल अर्यालजस्तै खरेल ग्रुपकै हुन् ।

    बढुवाका लागि २३ जना एसएसपी प्रतिस्पर्धी थिए । त्यसमध्ये रणबहादुर चन्द, हेमन्त पाल, घनानन्द भट्ट, गोविन्द निरौला, रोमेन्द्र सिंह देउजा, सुदिप आचार्य, विजयराज भट्ट, रमेश फुयाँल, रवीप्रताप राणा र ज्ञानोदराज वैद्य यसपाली छुटे । राणा र वैद्यले कार्तिकमा अवकाश पाउनेछन् ।

    बढुवाको सिफारिशमा परेका उपाध्याय धनआर्जन संगसंगै अर्काको परिवार बिगार्ने प्रहरी अधिकृतमा पर्छन् । श्रीमतीसंग सम्बन्ध बिच्छेद गरी उपाध्यायले अर्काकी श्रीमती ल्याएका हुन् । त्यस्तै अपराध अनुसन्धान महाशाखा प्रमुखबाट विमानस्थलको निमित्त डिआईजी चलाएका विजयलाल कायस्थ गृहमन्त्री बामदेव गौतमकै नजरमा परेका प्रहरी अधिकृत हुन् ।

    उनीमाथि नेपालमा कानुनी मान्यता नभए पनि ‘लिभिङ टुगेदर’मा बसेको आरोप लागेको छ । यद्यपि उनले श्रीमतीसंग भने सम्बन्ध बिच्छेद गरेको बताइन्छ । अर्का प्रतिस्पर्धी माधव जोशी अच्यूतकृष्ण खरेल आईजीपी हुँदा एयरपोर्टमा ‘सुन लाइन’ चलाउने अधिकारीका रुपमा चर्चित छन् । उही नामका नेपाल खरेल र प्रदीप राणाका पालामा प्रबन्ध शाखामा बस्ने सौभाग्य प्राप्त गरेका अधिकृत हुन् । प्रहरीको बन्दोबस्तीका सम्पूर्ण सामान खरीद गर्ने प्रबन्धलाई ‘मालदार’ निकायका रुपमा लिइन्छ ।

    त्यसै गरी प्रहरीमा इमान्दार भनेर प्रचारित देवेन्द्र सुवेदीको श्रीमतीमार्फत कांग्रेस नेतासंग राम्रै सम्बन्ध छ । केही डनसंग समेत उनको अप्रत्यक्ष सम्बन्ध रहेको स्रोत बताउँछ । प्रतिस्पर्धाका अर्का केशरी घिमिरेको केही पत्रकारहरुसंग राम्रै उठबस छ भने इलाम घर भएका पंकज श्रेष्ठ पनि बढुवा खान ठूलै कसरत गरेका थिए । त्यस्तै एसएसपी बमले बुटवल तालिम केन्द्रमा रहँदा भ्रष्टाचार गरेको आरोप छ ।

    उता आफू जनजाति भएकाले पक्का बढुवा हुने भन्दै हिंड्ने गरेका मिङ्मार लामा कोशी अञ्चलको एसएसपी हुँदा बदनाम भएका थिए । धरानमा मध्यराति युवती च्यापेर सोमरस पिउँदै गरेको अवस्थामा पत्रकारले फेला पारेर फोटो खिचेपछि पत्रकारको क्यामरा खोसेर कुटपिट समेत गरेको काण्डमा मुछिएका लामालाई तत्कालीन आईजीपी कुवेरसिंह रानाले उल्टै अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा सरुवा गरेका थिए । उपत्यकाका रैथाने मधु पुडासैनी भने अहिले भेरी अञ्चल प्रमुखको हैसियतमा भूमिगत गिरोहको अनुसन्धान तथा चोरी तस्करी नियन्त्रणका नाममा घुमुवा परिचालन गरेर बदनाम भैरहेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र