• Breaking News

    9.24.2014

    महिला विदेश जाँदा घर धान्ने पुरुष

    चितवन, असोज ८ - पुरुष विदेश जाँदा श्रीमतीलगायत घरमा भएमा महिलाले घर धानिरहेका हुन्छ्न ।
    तर महिला विदेश जाँदा बालबच्चाको हेरचाह तथा परम्परागत महिलाले धान्दै आएका खाना बनाउने खुवाउने तथा लुगा धुनेलगायतका काममा भने असहज हुने गरेको पाईएको छ ।
    कुनै घरमा आमाबाबुले यी काम सहज पारिरहेका छन्, कतै कामदार राखेर गरिएको छ त कही पुरुषले नै गर्ने गरेका छन् । बिस्तारै परम्परागत रुपमा महिलाले गर्ने गरेका काम पुरुषले गर्दा सहज हुन थालेको पनि देखिएको छ ।
    यस्तै उदाहरण चितवनका केही परिवारमा भेट्न सकिन्छ । भरतपुर ८ गौरीगञ्ज निबासी बिष्णु रेग्मी उमेरले तीन बीस नजिक पुग्नुभयो । दिन ढल्दै जाँदा शरीरमा बिभिन्न समस्या देखा पर्छ । दुई छोराकी आमा भएपनि सानो छोरा र दुई बुहारी बिदेशमा रोजगारीका लागि गएपछि घरको काम विष्णुले धान्नु परेको छ ।
    अरु बेला त भविष्य बनाउन गएका छन भनेर चित्त बुझाएपनि बिरामी हुँदा बुहारीकोे अभाव महसुस हुने गरेको छ ।  ‘अरु बेला त जसोतसो धानिन्छ’ उहाँले भन्नुभयो ‘बिरामी परेको बेलामा त बुहारी अहिले नै आए हुन्थ्यो जस्तो लाग्छ ।’
    छोरा हेमराज रेग्मीको अनुभव पनि त्यस्तै छ । आमाबुबा सँगै भएकाले कामको बोझ नभएपनि आमाबुबा बिरामी हुँदा आवश्यक स्याहार पुर्याउन नसक्दा अभावको अनुभुति हुने गरेको उहाँले सुनाउनुभयो ।
    ‘बुढेसकाल लागिसकेका बुबा आमालाई पर्ने समस्या त तिनै हुन्’ हेमराजले भन्नुभयो, ‘छोरा बुहारी साथमा हुन्, स्याहार सुसार गरुन्, सबै काममा सहयोग गरुन भन्ने त सबै बुढाबुढीको चाहाना त हुन्छ । त्यो त समस्या नै छ । आमा बाबा बिरामी भैरहने भएकाले बुहारीको अभाव त खड्किन्छ तैपनि जेनतेन चलिरहेकै छ ।’
    यस्तै समस्या भरतपुरका १४ तोरीखेतका रवि अधिकारीको पनि छ । श्रीमती बिदेश गएपनि ईमेल ईन्टरनेटका कारण नियमित रुपमा कुराकानी गर्न पाएका उहाँ अरु कुरा जेनतेन चलेपनि छोरा छोरीका लागि हेरचाह नपुगेको बताउनुहुन्छ । बालबच्चा आमाबुबा (हजुरा र हजुरआमाले)ले हेरेपनि बढि माया गरेर पुलपुलिने डर उहाँलाई छ ।
    ‘बालबच्चालाई दिने समय नपुगेकाले बालबच्चाले के गरिरहेका छन् भन्ने त्यति ख्याल गर्न नभ्याइने रहेछ’ अधिकारीले आफ्नो अनुभव सुनाउनुभयो ‘उनी (श्रीमती) भएको बालबच्चालाई कति बेला पढ्ने, खाने टेलिभिजन हेर्ने भन्ने नियमित रुपमा गर्ने थिइन् । अहिले माया बढी भएपनि त्यो चाहिँ अलिक गर्न सकिएको छैन ।’
    २५ वर्षसम्म कपडाको टालो पनि नधोएका अधिकारी अहिले घरमा भाँडा माझ्ने लुगा धुने काम आफैं गर्नुहुन्छ । अहिले यी काम गर्न उहाँलाई दैनिक रुपमा खाना आए जस्तै सामान्य लाग्ने गरेको छ ।
    उहाँले आफ्नो अनुभव सुनाउनुभयो, ‘कपडा धुन त मान्छे राखेको भएपनि बिहान बेलुकाको भाँडा भने समयमै गएर माझ्ने गरेको छु ।’ श्रीमती साथै भएको भए सजिलो हुन्थ्यो भन्ने उहाँ थप्नुहुन्छ ‘२५ वर्षको उमेरसम्म मैले कपडाको टालो पनि धोइन तर अहिले काम गर्दै जाँदा बानी परेकाले भाँडा माझ्न, कपडा धुन केही जस्तो नै लाग्दैन । अहिले त भाँडा माझ्नु, कपडा धुनु खाना खाने जस्तै सामान्य लाग्ने गरेको छ ।’
    सरकारी तथ्यांक अनुसार बितेका ८ बर्षमा १ लाख भन्दा धेरै नेपाली महिला रोजगारीका लागि विदेश पुगेका छन् । त्योभन्दा अगाडि र भारत भएर काम गर्न विदेश जाने महिलाको रेकर्ड कतै पनि छैन । त्यसैले कति नेपाली महिला रोजगारीका लागि विदेश पुगेका छन् भन्न कठिन छ । तर हिजोआज नेपालका धेरै घरपरिवार नेपाली महिलाले विदेशमा बगाएको पसिनाले धानेको तथ्य चाहिँ कसैबाट लुकेको छैन ।

    मोहन बस्याल/उज्यालो
    #ujyaaloonline#

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र