चितवन, साउन २३ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का नेता डा. बाबुराम भटटराईसँगको विवाद दुध भात जस्तै भैसकेको बताउनु भएको छ ।
बाबुराम भटटराईसँगको विवाद २०४१ साल देखिकै भएको बताउँदै उहाँले यसलाई आफूहरुले दुधभात जस्तै सामान्य रुपमा लिने गरेको बताउनुभयो ।
भरतपुरमा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले अहिले पार्टीमा देखिएको अन्तर्विरोध यो भन्दा बढी नचर्किने दाबी गर्नुभयो । ‘समस्या देखिएको छ, समाधानको प्रकृया पनि सुरु भैसकेको छ’ प्रचण्डले भन्नुभयो ‘भोली (शनिबार) विहान उहाँसँग नेतृत्वको बैठक बस्ने तय भैसकेको छ, समाधान निस्कन्छ म विश्वस्त छु ।’
पार्टीको आन्तरिक विवादले संविधान निर्माणमा असर नपुग्ने दावी पनि प्रचण्डले गर्नुभयो । ‘हाम्रो विवाद यस भन्दा चर्केर गयो भने असर गर्न सक्छ तर अब यस भन्दा चर्केर जाँदैन त्यसैले असर गर्दैन ।’ उहाँले ठोकुवा गर्नुभयो । संविधान निर्माण र शान्ति प्रकृया पुरा गर्ने कार्यभार बाँकी रहेकाले पार्टी नफुट्ने उहाँले बताउनुभयो ।
बाबुराम भटटराईको माग आफूले अहिलेसम्म नबुझेको प्रचण्डले बताउनुभयो । ‘माग बुझेको भए पुरा गरि सक्थे’ प्रचण्डले भन्नुभयो ‘उहाँले पार्टीमा प्रष्टसँग माग राख्नु भएकै छै्रन ।’
पत्रकारले भागबण्डा नमिलेर पो विवाद भएको होकी भन्ने शंक व्यक्त गर्दा प्रचण्डले भन्नुभयो ‘भाग पुगेन भनेको भए भाग बढाई दिन्थे, भाग पुगेन पनि भन्नुभएको छैन ।’ एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आफ्नी सासुको निधनको तेह्रो दिनको पुन्य तिथिको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आउनुभएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment