काठमाडौँ, २५ साउन । उपचारका क्रममा आइतबार बिहान भारतमा निधन भएका नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको शवलाई सोमबार बिहान नेपाल ल्याइने भएको छ ।
श्रेष्ठको नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा आइतबार बिहान ५ बजे निधन भएको थियो । निमोनियाको संक्रमण देखिएपछि उहाँ उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।
गत असार २३ गते नायिका श्वेता खड्कासँग विवाहबन्धनमा बाँधिनुभएका श्रेष्ठ हनिमुन मनाउन भारतको सिमला पुग्नुभएको थियो । चलचित्र निर्देशक आकाश अधिकारीले राससलाई दिएको जानकारीअनुसार श्रेष्ठलाई एक हप्ता पहिला बोन क्यान्सर देखिएको थियो, उहाँको पहिलो किमो लिएको र हिजो दोस्रो किमो लिन नसकेपछि निधन भएको हो ।
निर्देशक अधिकारीले स्वर्गीय श्रेष्ठको शव ल्याउनका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिनुभयो । आइतबार गंगाराम अस्पतालमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्ण ढकाल पुग्नुभएको थियो ।
श्रेष्ठका परिवार तथा आफन्त अस्पतालमा पुगेकाले परिवारको निर्णयअनुसार सोमबार बिहान शव काठमाडौँ ल्याइने उहाँले बताउनुभयो । त्यसका लागि शव नेपाल ल्याउन चलचित्र कलाकारले आइतबार तीनजना मन्त्रीसँग आग्रह गरेका थिए । निर्देशक अधिकारीको नेतृत्वमा रहेको टोलीले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यलाई भेटी आग्रह गरेको हो । यस्तै टोलीले सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाललाई टेलिफोन वार्ता गरी शव ल्याउन सहयोग गरिदिन आग्रह गरेका थिए ।
जवाफमा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले श्रेष्ठको शव नेपाल ल्याउन चलचित्र विकास बोर्डका तर्फबाट सबैखाले सहयोग गर्ने बचन दिनुभएको अधिकारीले जानकारी दिनुभयो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले सङ्घका आजीवन सदस्यसमेत रहनुभएका स्वर्गीय श्रेष्ठको शव ल्याउन कूटनीतिक पहल भइरहेको जानकारी दिनुभयो ।
श्रेष्ठको शव विमानस्थलबाट श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ ।
श्रेष्ठद्वारा अभिनित पछिल्लो चलचित्र ‘कोहिनुर’ हाल प्रदर्शन भइरहेको छ । पछिल्लो समय उहाँको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कोहिनुर’ यही साउन २३ गतेबाट हलहरूमा प्रदर्शन भइरहेको छ ।
विसं २०४९ मा ‘भूमि’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले नायकको रूपमा ‘नाता’ चलचित्रबाट यात्रा अघि बढाउनुभएको थियो ।
चलचित्र क्षेत्रका निकै मिलनसारका रूपमा परिचित श्रेष्ठले आफन्त, आफ्नो मान्छे, सुखदुःख, ए मेरो हजुर, हामी तीन भाइ, पाहुना, कहाँ भेटिएलाजस्ता चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।
यस्तो थियो अन्तिम इच्छा
अभिनेता श्रीकृष्णले आफ्नो शव भने नेपाल नलैजान भनेको उनका दाजु मिनकृष्णबाट खुलासा भएको छ ।
श्रीकृष्णले मृत्युअघि आफ्ना प्रशंसकलाई पीडा हुने भन्दै आफ्नो शव नेपाल नलैजान अनुरोध गरेको मिनकृष्णले पत्रकारहरुलाई बताउनुभएको छ । तर, नेपाली चलचित्र क्षेत्रको लोकप्रिय कलाकार भएकाले उहाँको शवलाई नेपाल राजधानी ल्याइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कर्मचारीसमेत रहेका श्रीकृष्णको सरकारी सम्मानका साथ अन्तिम दाहसंस्रकार गर्ने तयारी भइरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment