• Breaking News

    8.24.2014

    आठ वर्षमा एक लाख १३ हजार ७७८ जना महिला वैदेशिक रोजगारीमा

    काठमाडौँ, भदौ ८ - नेपालमा दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापनासँगै नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाउँदा उनीहरूले विदेशमा अनेक दुःखकष्ट पाएका खबर आउने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०६३-६४ मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारमा गएकामा आव २०७०औ७१ सम्म आइपुग्दा सो सङ्ख्या बढेर २८ हजार ९६६ पुगेको छ ।

    वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०६३-६४ अघिकोे वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या राखे पनि महिला र पुरुषको छुट्टाछट्टै सङ्ख्या राखेको छैन । विभागले तथ्याङ्क राख्न थालेयताको आठ वर्षमा एक लाख १३ हजार ७७८ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । सो अवधिमा वैदेशिक रोजगारमा जाने पुरुषको सङ्ख्या भने २५ लाख ७४ हजार ६०३ रहेको छ ।
    आव २०६३-६४ मा ३९०, आव २०६४-६५ मा चार हजार ६८५, आव २०६५-६६ मा आठ ५९४, आव २०६६-६७ दश हजार ५६ र आव २०६७-६८ मा १० हजार ४१६ जना महिला वैदेशिक रोजगारमा गएका छन् । आव २०६८-६९ मा २२ हजार ९५८, आव २०६९-७० मा २७ हजार ७१३ र आव २०७०-०७१ मा २८ हजार ९६६ जना महिला वैदेशिक रोजगारीमा गएका छन् ।

    सो अवधिमा सबैभन्दा बढी कुवेतमा ३७ हजार १०२ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी, क्रमशः युनाइटेड अरब इमिरेट्स (दुबई)मा २२ हजार ६६५, मलेसिया १७ हजार ३२२, लेवनानमा १० हजार ८५८, कतारमा पाँच हजार ५०१, इजरायलमा तीन हजार ८६३, बहराइनमा तीन हजार २८६, कुवेतमा दुई हजार ३८४, दक्षिण कोरियामा ८५९, जापानमा ५८० र अन्य मुलुकमा छ हजार ७३६ जना महिला वैदेशिक रोजगारमा गएका छन् ।

    द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमासमेत ३४ जना महिला श्रम विभागबाट स्वीकृति लिएर रोजगारमा गएका छन् । विभागबाट स्वीकृति लिएर जानेको सङ्ख्याभन्दा ठूलो सङ्ख्यामा नेपाली महिला अवैधानिक ढङ्गले भारत हुँदै खाडीलगायतका मुलुक जाने गरेका छन् ।

    द्वन्द्वको चपेटामा रहेको मुलुक इराकमा समेत पाँच हजारभन्दा बढी नेपाली महिला अहिले अवैधानिक रूपमा रोजगारीमा रहेको विवरण सार्वजनिक भइरहेको छ ।

    इराकमा सङ्कट बढ्दै जाँदा नेपाल सरकारले उद्धारकार्य अगाडि बढाउने क्रममा अनुसन्धान गर्दै जाँदा त्यहाँ रहेका १० हजार नेपालीमध्ये आधा महिला रहेको कहालीलाग्दो विवरण बाहिर आएको हो ।

    भारत हुँदै खाडीलगायतका मुलुक जाने नेपाली महिलालाई त्यहाँ पुग्नेबित्तिकै महिलाहरूको राहदानीलगायतका सामग्री जफत गर्ने र उनीहरूलाई बलजफ्ती काममा लगाउने गरिएको छ ।

    खाडी मुलुकमा जाने महिलालाई यौन व्यवसायमा लाग्न बाध्य पार्ने, रेष्टुराँमा नाङ्गो नाच्न बाध्य पार्ने, घरेलु कामदारका रूपमा रहेका महिलालाई मालिकले बलत्कार गर्ने, तातो पानी खन्याइदिनेलगायतका कार्यहरू हुने गरेको छ ।

    पछिल्लो समय खाडीमात्रै होइन नेपाली महिलालाई मानव तस्करले रोजगारका नाममा अफ्रिकी मुलुक पुर्‍याउन थालेका छन् ।

    देशमा पर्याप्त रोजगारीको अवसर नहँुँदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । केही समय अघिसम्म पुरुषमात्रै वैदेशिक रोजगारमा जाने गरेकामा पछिल्लो समय महिला पनि वैदेशिक रोजगारीमा जाने प्रचलन बढ्दै गएकोे देखिएको छ ।

    गएको आठ वर्षमा विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जाने महिलाको सङ्ख्या एक लाख १३ हजार ७७८ जना भए पनि सोभन्दा दोब्बर सङ्ख्या अवैध रूपमा खाडी, मलेसियालगायतका देशमा पुगेको अनुमान वैदेशिक रोजगारमा कार्यरत कर्मचारीहरू बताउँछन् ।

    खाडी, मलेसियालगायतका मुलुकबाहेक युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायतका मुलुकमा पनि नेपाली महिला पर्यटक भिसा, व्यापार भिसा र विद्यार्थी भिसाका नाममा गएर अवैध किसिमले काम गरी बस्ने गरेका छन् । ती मुलुकहरू तुलनात्मक रूपमा महिलाका लागि सुरक्षित मानिएका छन् ।

    श्रम विभागका प्रवक्ता बद्रीकुमार कार्की घरेलु कामदारका रूपमा खाडी मुलुकमा गएका नेपाली महिलामाथि श्रम शोषण हुने गरेको, समयमा तलब नदिने गरेको, बढी समय काममा लगाउने गरेको तथा कतिपय ठाउँमा यौन शोषणसमेत हुने गरेको गुनासो आएपछि गत चैतदेखि ती मुलुकमा घरेलु महिला कामदारलाई पठाउन बन्द गरिएको बताउँछन् । कतिपय महिला मालिकबाट बलात्कृत भएपछि गर्भवती भएर नेपाल फर्कने गरेका छन् ।

    खाडीलगायतका देशमा रोजगारका लागि जाने नेपाली महिला कामदारमाथि नेपाल सरकारले कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् ।

    भारत मात्रै होइन नेपालबाटै पर्यटक भिसा, व्यापार भिसा र विद्यार्थी भिसा लिएर खाडी, मलेसियालगायतका मुलुकमा गएर अवैध रूपमा बस्ने महिलाको सङ्ख्या उल्लेख्य मात्रामा छ ।

    सरकारले अर्को निर्णय नभएसम्मका लागि भन्दै गत चैत्र महिनादेखि खाडी मुलुकमा महिला घरेलु कामदार लैजान रोक लगाएपछि भारत हुँदै महिलालाई ती मुलुक पु¥याइन थालिएको हो ।

    वैदेशिक रोजगारमा गएर विपत्मा परेका महिलाको उद्धारमा सक्रिय संस्था ‘पौरखी’ नेपालकी अध्यक्ष मञ्जु गुरुङ सरकारले घरेलु कामदारका रूपमा खाडी, मलेसियालगायतका मुलुकमा जान महिलाको उमेर अनिवार्य रूपमा ३० वर्ष हुनैपर्ने प्रावधान राखेका कारण पनि महिला बाध्य भएर भारत हँुदै अवैधानिक रूपमा गइरहेको बताउँछन् ।

    उनले उमेर हद तोकेर महिलामाथि भेदभाव गरेको बताउँदै राज्यले वैदेशिक रोजगारमा जान चाहने महिलालाई तालिम दिएर दक्ष बनाउनुपर्ने तथा पर्याप्तमात्रामा कामका बारेमा अग्रिम सूचना दिनुपर्ने बताए
    नेपालका म्यानपावरमार्फत अवैध रूपमा नेपाली महिलालाई कामदारका रूपमा विदेश पठाइने गरे पनि त्यसबारे सरकार र सम्बन्धित निकाय श्रम विभाग मौन छ । विभागले अवैध रूपमा महिला कामदार पठाउने म्यानपावरलाई कारबाही गर्न सकेको छैन ।

    विभागका प्रवक्ता कार्की महिला कामदारलाई अवैध रूपमा पठाउने कार्यमा संलग्न भएकै कारण कुनै म्यानपावारलाई पछिल्लो समय कारबाही भएको आफूलाई थाहा छैन भन्छन् ।

    म्यानपावरमार्फत महिला कामदारको माग आए पनि उनीहरूका स्थानीय दलालमार्फत त्यसरी अवैध रूपमा जाने महिला कामदारलाई पठाइने गरेकाले म्यानपावर व्यवसायी संस्थागत रूपमा सुरक्षित हुने गरेका छन्।

    अध्यक्ष गुरुङका अनुसार अधिकांश महिलालाई उनीहरूको नजिकका नातेदार र म्यानपावरका स्थानीय एजेन्टमार्फत भारत हुँदै लैजाने गरेको र त्यसरी जानेहरूसँग जाँदा कुनै कागजात प्रमाणका रूपमा नरहने भएकाले पनि दुःख पाएर नेपाल फर्किएपछि कानुनी कारबाही गर्न कठिनाइ हुने गरेको छ ।

    त्यस्तै, अवैध रूपमा जाने महिला आफू पनि कारबाहीमा पर्ने डरले उजुरी दिन हिच्किचाउने गरेका छन् ।

    नेपाली महिला कम पढेका र आधुनिक प्रविधिसँग हेलमेल गर्न नजानेकै कारण पनि विदेशमा बढी दुःख पाउने गरेका छन् ।

    घरायसी काम गर्दा भाषाको समस्यादेखि इस्त्री लगाउने, भ्याकुम क्लिनर लगाउनेसम्मको सामान्य काम गर्ने अनुभव नहुँदा उनीहरू मालिकको आक्रोशमा पर्ने गरेका छन् ।

    महिला कामदारलाई रोक लगाएपछि भिसा आइसकेका महिला कामदारको विचल्ली परेको गुनासो बढ्दै जाँदा सरकारले जेठ ३१ गतेभित्र भिसा आइसकेका महिला कामदारलाई भने ती मुलुकमा जाने अनुमति दिने निर्णय गरेको छ ।

    विदेशमा नेपाली महिला घरेलु कामदारको सहज रोजगारी र आत्मसम्मानको प्रत्याभूत हुने गरी व्यवस्थित गर्न श्रम सचिवको संयोजकत्वमा सुझाव समिति गठन गरिएको र त्यसले दिएको सुझावको आधारमा ती मुलुकमा कामदारको रोकलाई खुल्ला गरिने प्रवक्ता कार्कीको भनाइ छ । रासस
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र