बेलायतका लागि युद्ध लड्न गएका श्रीमान् ज्युँदो थिए वा मरे भन्ने शान्तिमायाले जान्नसम्म पाइनन् । जिउँदो छन्जेल उनी भन्थिन्, ‘मेरो श्रीमान् ज्युँदो छ, या मारिए, मारिए भने कुन पापी देशमा मारिए ? कहाँ कसले मेरो श्रीमानको लास गाड्यो होला !’
मोरङकी शान्तिमाया त्यस्ता हजारौँ लाहुरेनीका प्रतिनिधि हुन्, जो युद्ध लड्न गएका श्रीमान्को प्रतीक्षा गर्दागर्दै बिते । ती अभागी लाहुरेनी, जसले आफ्ना श्रीमान् कहाँ मारिए, कहिले मारिए, किन मारिए ? त्योसम्म जान्न पाएनन् ।
स्व. भिसी लछिमान गुरुङले हिमाल एसोसिएसन (हिमाल किताब)ले सन् २००२ मा प्रकाशन गरेको ‘लाहुरेको कथा’ पुस्तक निर्माणका वार्ताकार भरतराज पोखरेलसँग आत्मबयानमा भनेका छन्, ‘बर्माको लडाइँमा गोरखालीहरू कति मरे कति, गोरखालीको लास उठाउने कोही थिएनन्, न घाइतेको उद्धार गर्ने नै । गोरखालीका लास र घाइतेलाई टेक्दै दुस्मनसँग लड्यौँ । ती गोरखालीको लास बर्माको माटोमा बेवारिसे भए, उनीहरूको मृत्युमा खै कसले आँसु बगाए होलान् ?’ भिसी गुरुङले लडेको बर्मा मोर्चाजस्तै कैयन मोर्चाको अग्रपङ्क्तिमा गोरखाहरू थिए, र युद्धमा हजाराँै गोरखा सैनिक मारिए । उनीहरूको लास गन्ने फुर्सदसम्म ब्रिटिससँग थिएन । दोस्रो विश्वयुद्ध लडेका अर्का पासाङ लिम्बूले पनि सोही पुस्तकको लागि आत्मबयानमा भनेका छन्, ‘बर्माको लडाइँमा एकै ठाउँ ७५ जना गोरखाहरू एकैचिहान भए, तिनका लास उठाउने कोही भएनन्, त्यतिवेला साहै्र मन रोएको थियो ।’
लछुमन गुरुङ र पासाङ लिम्बूले जस्तै जो–जो विश्वयुद्ध लडेर घर फर्किए, उनीहरूले सयाँै नेपाली एकैचिहान भएको देखेका छन् । विरानो देशमा ढलेका साथीहरूका लास टेक्दै आएका छन् । बाँचेका अभागी गोरखाहरूले पनि साथीको मृत्युुमा आँसुु बगाउने फुर्सदसम्म पाएनन् । पानी माग्दै छटपटाइरहेका साथीहरूलाई छाडेर शत्रुको टे«न्चतिर जाइलाग्नुपर्ने अवस्था थियो । ब्रिटिस साम्राज्य रक्षा र विस्तारका लागि लड्दालड्दै मर्नेहरू जुन हालतमा मारिए पनि, जुन देशमा फालिए पनि त्यो फिल्मको एउटा ‘एपिसोड’जस्तै भयो सकियो, तर युद्धमा जो घाइते भएर आए, उनीहरूको दुःखको लामो ‘टेलीशृङ्खला’ बने, जसले सबै दर्शकको आँसु बगायो ।
धरान–१८ शिवमार्गका इन्द्रबहादुर राई, जसले विश्वयुद्धमा बेलायतको दुुस्मनलाई छपाछप सिध्याए, अदम्य बहादुरी देखाएबापत तक्मा पनि पाए । तर, उनले दोस्रो विश्वयुद्धमा लागेको घाउको पीडा जीवनभर सहेर बसे । सन् १९४५ अगस्ट ६ मा इटालीको पोरिभरमा बम पड्किँदा उनको शरीरभरि घाउ भयो । बमको छर्राले घुुँडाको पाङ्ग्रा उडायो । गोलीले टाउकोको हेलमेटसमेत छेडेर टाउकोमा घाउ बनायो । जब उनी लडाइँका लागि अयोग्य भए, उसलाई सन् १९४७ जुलाई २३ मा घर फर्काइयो । उसलाई एकथान पित्तले भड्डु, पित्ले थाल र एक जोर कपडा दिएर फर्काइयो । उनी त्यति सामान र घाइते शरीर लिएर घर फर्किंदा २४ वर्षका थिए । २४ वर्षमा अपाङ्ग बनेका राईले मात्रै जीवनभर घाउको पीडा सहेनन्, त्यसको बोझ उसको परिवारले पनि भोग्नुप¥यो । ०६२ फागुनमा (त्यतिवेला उनी ८५ वर्षका थिए) भेट्दा पनि उनले त्यही इटालीको घाउको पीडा सहेर बसेका थिए । घाउमा भन्किने झिँगा धपाएर बसेका थिए । जीवनको उत्तराद्र्धमा थिए, तर घाउ उस्तै आलो थियो । भन्थे, ‘बेलायती अपराधीहरूले हामीलाई पीडाभन्दा केही दिएनन्, एक बारको जीवनमा घाउ सुुमसुम्याउँदै रुँदै बस्नुुप¥यो ।’ इन्द्रबहादुर राई एउटा प्रतिनिधि पात्र मात्रै हुन्, उनीजस्ता हजारौँ लाहुरे अझै पनि पुरानो युद्धको आलो घाउ बोकेर बाँचेका छन् ।
यस्तो इतिहास सुुरु भएको सन् १८१६ बाट हो । त्यसयता नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिपछि लाखाँै गोरखा सैनिकहरूले बेलायती साम्राज्यको रक्षा र विस्तारका लागि लडेका छन् । गोरखा सैनिकहरूले सन् १८१६ देखि आजसम्मका प्रत्येक युद्धहरूको अग्रमोर्चामा रहेर बेलायतको पक्षमा लडेका छन् । पहिलो विश्वयुद्धमा (सन् १९१४–१९) मात्रै दुई लाख गोरखा सैनिकले बेलायतको पक्षमा लडेका थिए । बेलायतको तल्लो सदनले ८ फेब्रुअरी १९८९ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार पहिलो विश्वयुद्धमा मात्रै २० हजार गोरखा सैनिक मारिएका थिए । त्यही तथ्याङ्कलाई आधिकारिक माने पनि कम्तीमा एक लाख गोरखा सैनिक घाइते भए । त्यस्तै दोस्रो विश्वयुद्धमा ब्रिटिस साम्राज्यको तर्फबाट २ लाख ५० हजार गोरखाहरूले युद्ध लडे ।
यसपछिका अनेकौँ क्षेत्रीय युद्धहरूमा लाखौँ गोरखा सैनिक सहभागी भए । ब्रिटिस साम्राज्यको ‘ग्रेभ्स कमिसन’ले ४५ हजार गोरखा सैनिक मारिएको तथ्याङ्क देखाएको छ । तर, त्यो तथ्याङ्क मिथ्या देखिन्छ । गोरखाहरूका लागि विगत २५ वर्षदेखि न्यायिक संघर्ष गरिरहेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले प्रस्तुत गरेको तथ्यलाई हेर्दा ६० हजारभन्दा बढी गोरखा सैनिकहरू मारिएका छन् । गेसोको तथ्य र दाबी विश्वासयोग्य देखिन्छ, किनभने अझै यस्ता हजारौँ लाहुरेनी छन्, जो बेलायतका लागि लड्न गएका लाहुरे श्रीमान्को प्रतीक्षामा छन् । उनीहरू भन्छन्, ‘मलायाको लडाइँमा गएका मेरो श्रीमान् अझै फर्किएका छैनन्, मरे कि ज्युँदो छन् कुनै खुटखबर आएको छैन । मारिए वा जिउँदा छन्, उत्तर चाहियो ?’
युद्ध लड्न गएका लाहुरेको प्रतीक्षामा बसेका लाहुरेनीलाई बेलायत सरकारले अहिलेसम्म उत्तर दिन चाहेकै छैन । यसकारण बेलायतका लागि लड्दा ६० हजारभन्दा बढी गोरखा सैनिकहरू मारिएको तथ्यलाई सहज मान्न सकिन्छ ।
यसरी गोरखा भर्तीमा लागेका ६० हजारभन्दा बढी गोरखाली मारिए, लाखौँ घाइते भए । तर, यसरी भर्ती गरेर लगिने गोरखा भर्ती नै अवैध रहेको बेलायती अदालतले नै पुुष्टि गरेको छ । अवैव गोरखा भर्ती केन्द्रबाट लगेर युद्धमा प्रयोग गरिनुु युद्ध अपराध हो ।
यसकारण अवैध छ गोरखा भर्ती
दोस्रो विश्वयुद्धलगत्तै सन् १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भयो । दोस्रो विश्वयुद्धलगत्तै लाखौँ गोरखालाई खाली खुट्टा घर फर्काए पनि १९४७ अगस्ट १५ सम्म दश हजार चार सय गोरखा सैनिकहरू बेलायती पल्टन गोरखा बिग्रेडमा कार्यरत थिए । गोरखाहरूलाई सँगै लैजाने बेलायती योजना थियो । भारतीयहरू गोरखालीहरूलाई भारतमै राख्न चाहन्थे । यही विषयमा विवाद हुँदा बेलायतले अण्डमान–निकोबार द्वीप नछाड्ने धम्की भारतलाई दियो । यस्तो धम्कीपछि जवाहरलाल नेहरू गोरखा सैनिकको विषयमा सहमतिमा आउन तयार भएका थिए । बेलायतको धम्कीपछि गोरखा सैनिकलाई भागबिलो लगाउने सहमति भयो, तर आफ्नै नागरिकको भागबिलोबारेमा नेपाल सरकार बेखबर थियो । उनीहरूबीच सन् १९४७ नोभेम्बर ७ मा गोरखा ब्रिगेडका १० रेजिमेन्टमध्ये दोस्रो, छैटौँ, साताँै र दसौँ राइफल्स बेलायतले लैजाने र पहिलो, तेस्रो, चौथो, पाँचौँ, आठाँै र नवौँ राइफल्सचाहिँ भारतमा राख्ने सहमति भयो ।
दुई देशले सहमति गरिसकेपछि केवल औपचारिकताका लागि १ नोभेम्बर १९४७ मा ब्रिटिस र भारतका अधिकारीहरू काठमाडौं आए । दुई देशले तयार पारेको सहमतिमा नेपालका तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणा सही छाप गर्न तयार भए । यही सहीछापलाई ‘त्रिपक्षीय सम्झौता’ (हेर्नुहोस् बक्समा) भनिन्छ । यो सम्झौता त्रिपक्षीय भनिए पनि भारत सरकारको तर्फबाट सामान्य अफिसर दयावीरसिंह वेदी र ब्रिटेनको तर्फबाट एसिबी साइमनले हस्ताक्षर गरेका थिए । नेपालको सरकार प्रमुखले गरेको सम्झौतापत्रमा दुई देशको तर्फबाट भने सामान्य अधिकृतस्तरकाले हस्ताक्षर गर्नुले उतिवेलै यसको वैधानिकतामा प्रश्न उठेको थियो । त्यही सम्झौताको आधारमा आजसम्म नेपाली युवालाई गोरखा भर्तीमा लगिएको हो भन्ने दाबी गर्ने गरिएको छ, तर उक्त सम्झौता नै आजसम्म वैधानिक हुन सकेको छैन । सरकारस्तरीय सम्झौतालाई तीनै देशका संसद्ले पारित गर्नु अनिवार्य छ, तर आजसम्म कुनै देशको संसद्ले पारित गरेको छैन । बेलायती संसद् हाउस अफ कमन्समा इन्डोर्स र पारित नगरेसम्म यसले वैधाकिता पाउँदैन । यसकारण लाखौँ नेपाली युवाहरूलाई भर्ती गरेर युद्धमा होम्ने ब्रिगेड अफ गोरखाज स्वयम् गैरकानुनी हो ।
अर्कातिर गोरखा आन्दोलनकै क्रममा गेसोले हालेको मुद्दामा फैसला गर्दै ३० सितम्बर २००८ मा बेलायतको ‘रोयल कोट अफ जस्टिस’का न्यायाधीश निकोला ब्ल्याकको इजलासले त्रिपक्षीय सम्झौतालाई गैरकानुनी भन्दै खारेज गरिदिएको छ । फैसलामा त्रिपक्षीय सम्झौतालाई ‘अन्लफुल, इलिगल एन्ड इरासनल’ भनिएको छ, तर आजसम्म हाम्रा कूटनीतिविद्हरूले गोरखा भर्तीको वैधानिक आधार त्रिपक्षीय सम्झौता हो भनेर दाबी गर्दै आएका छन् । बेलायतको अदालतले नै गैरकानुनी भनिसकेको त्रिपक्षीय सम्झौताको अब कुनै कानुनी आधार छैन । गोरखा भर्ती नै अवैध हो भन्ने प्रमाणित भइसकेको छ । यसकारण ब्रिटिस सेनाको बिग्रेड अफ गोरखाज नै अवैध होे । गोरखा ब्रिगेड नै अवैध भएपछि दुई देशबीचको मित्रताको वैधता कसरी हुन सक्छ ?
यस्तो अवैध निकायले लाखौँ नेपाली युवालाई विश्वयुद्धमा लड्न पठाएको छ । नेपाल विश्वयुद्धको पक्ष राष्ट्र थिएन । बेलायतको उपनिवेश पनि होइन । ब्रिटेनको युद्धमोर्चाको सदस्य र सैनिक गठबन्धनको घटकसमेत होइन नेपाल । तर, युद्धमा होमेर हजाराँै नेपाली युवाहरूलाई मारियो । सार्वभौम देशको नागरिकलाई गैरकानुनी रूपमा युद्धमा होम्नु युद्ध अपराध हो । यदि अन्तर्राष्ट्रिय नियम र मानवअधिकार सबैका लागि हो भने गैरकानुनी रूपमा नेपाली युवाहरूलाई युद्धमा होम्ने बेलायत सरकार युद्ध अपराधी हो । के अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको पालना गरिब राष्ट्रले मात्रै गर्नुपर्ने हो ? एकजनालाई यातना दिएको आरोप खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई यतिवेला युद्ध अपराधको आरोपमा न्यायको कठघरामा उभ्याइएको छ । गैरकानुनी रूपमा हजारौँ नेपाली युवालाई मार्ने बेलायत सरकारचाहिँ युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभिनुपर्दैन ?
भर्ती अवैध, सम्बन्ध वैध ?
२६ फेब्रुअरी १९६१ मा काठमाडौंलाई बेहुलीजस्तै सिँगारिएको थियो । मानाँै, देशले केही ठूलै उत्सव मनाउँदै छ । अरू वेला नाक र कानबाट ढुङ्ग्रीमुन्द्री झिकेर बसेको उदास लिम्बुनी बज्यैजस्तो देखिने काठमाडौं सहर त्यस दिन बेहुलीजस्तै थियो । यस्तो उत्सवको एउटै कारण थियो— बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमण । राजा महेन्द्र र उनका सहयोगीहरू यति धेरै खुसी थिए, मानाँै बेलायती महारानीभन्दा उनीहरूको अर्को भगवान् छैन । तत्कालीन नारायणहिटी राजदरबारदेखि त्रिभुवन विमानस्थलसम्म सडक सजाउन कुनै कसर बाँकी राखिएको थिएन । गाउँघरतिर बिहेको दिन बेहुलीलाई सहरबाट ल्याइएको फेयर एन्ड लभ्ली, गाजल, मेहन्दी दलेर सकेसम्म राम्री बनाइन्छ । कतै मागेर भए पनि सुन लगाइदिने चलन छ, तर जब बिहे सकिन्छ, बेहुलीसँग न फेयर एन्ड लभ्ली हुन्छ, न गाजल नै हुन्छ, न मेहन्दी नै । गाउँघरको बेहुलीजस्तै थियो काठमाडौं र नियति पनि उस्तै ।
नेपाल भ्रमणकै क्रममा राजा महेन्द्रले रानी एलिजाबेथलाई उच्च बन्दोबस्तीसहित चितवनको सौराहा घुमाउन लगे । लावालस्कर सेनाका साथ हात्तीमा चढेर महेन्द्र आफैँले राइफल हानेर बाघको सिकार गरे । महेन्द्रले बाघलाई बन्दुकले ताकिँरहदा महरानी एलिजाबेथले बडो रुचिपूर्वक मुस्कुराउँदै हेरिरहेकी थिइन् । यता नेपालमा महेन्द्रले महारानी एलिजाबेथलाई बाघमासुसहितको भोज दिँदै गर्दा उता हजारौँ गोरखा सैनिकहरू बेलायतका लागि लड्न इन्डोनेसिया जाँदै थिए । विभिन्न युद्धपछि खाली खुट्टा घर फर्काइएका घाइते गोरखा सैनिकका घाउमा औषधि होइन, झिँगा भन्किरहेका थिए । नेपाल र बेलायती शासकबीच यस्तो भोज आदानप्रदान भएको आगामी सन् २०१६ मा दुई सय वर्ष पूरा हुँदै छ । सन् १८१६ मा नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिपछि गोरखाहरूले यही नियति खेप्दै आएका छन् । ठीक अहिले पनि उस्तै तयारी भइरहेको छ । बिग्रेड अफ गोरखाजले गोरखा भर्तीको द्विशतवार्षिकी मनाउन भव्य तयारी गरिरहेको छ । यता नेपाल सरकारले पनि शुभकामना पठाइसकेको छ, तर गोरखालीमाथिको विभेद भने उस्तै छ । नेपाली शासक र बेलायती शासकले गोरखाहरूलाई खरिदवस्तुको सामग्रीजस्तो बनाएर यसरी मनाउने उत्वस आफैँमा अवैध छ ।
खोइ ६० हजार गोर्खाली ?
यस अवधिमा कैयौँ युद्धहरू गोरखा सैनिकहरूले लडेका छन्, तर ती युद्धमा कति गोरखा मारिए, कति घाइते भए वा कति हराए भन्ने तथ्याङ्क बेलायतले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । नेपाल सरकारले पनि कुनै चासो देखाएन । विश्वको जनसंख्याको अनुपातमा सबैभन्दा बढी मर्नेहरू गोरखालीहरू नै थिए । तथ्यहरूका अनुसार युद्धमा करिब ६० हजार गोरखालीले आफ्नो जीवनको बलिदान गरेका थिए । ती गोरखाहरूकोे सम्झना र सम्मानमा आजसम्म बेलायतले सिन्कोसम्म भाँचेको छैन । युद्धमा एकजना मारिँदा सालिक बनाइन्छ, स्मृतिस्थलहरू बनाइन्छ, तर ६० हजारभन्दा बढी गोरखाली मारिँदा आजसम्म केही गरिएको छैन ।
ब्रिटिस शासकहरूले हाम्रा पुर्खाहरूको रगत, पसिना र आँसुको समुद्रमाथि पानीजहाज दौडाएर देशलाई समृद्ध बनाइरहेका छन्, तर ब्रिटिस साम्राज्यलाई समृद्धिको चुलीमा पु¥याइदिने, ती ६० हजारभन्दा बढी गोरखा सैनिकको इतिहास आज क्रमशः धुमिल बन्दै गएको छ । युद्धमा गएका लाहुरेको बाटो हेरेर बसेका तिनका आफन्तका आँखामा आँसु सकिएर रगत बग्न थालेको छ, तैपनि तिनको सम्मान त टाढाको कुरा, सोधपुछसमेत छैन ।
ब्रिटिस साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएका तिनै ६० हजारभन्दा बढी गोरखाको सम्झना र सम्मानमा गेसोले स्याङ्जाको फेदीखोला–८ स्थित साल्मेडाँडामा ३ गोरखा स्मारक बनाइरहेको छ । उसले ‘गोरखा स्मारक’लाई आन्दोलनकै रूप भनेको छ । गोरखाहरूको दाबी छ, ‘साल्मेडाँडाबाट ब्रिटिस शासनसत्ताबाट प्रभावित भएर लेखिएको गलत इतिहासको पुनर्लेखन गरिनेछ । यहाँ ब्रिटिस साम्राज्यको नश्लवाद र अत्याचारको कथा पनि लेखिनेछ ।’ यसले ब्रिटिस साम्राज्यले गोरखाहरूको बारेमा निर्माण गरेको गलत मानकलाई पनि विस्थापन गर्ने र गोरखामाथि थोपरिएको गलत विम्ब र पहिचानको विनिर्माण पनि गर्ने विश्वास गरिएको छ । यसले केवल गोरखाहरू मात्रै होइन, सिङ्गो नेपाली समुदायमाथिको विश्वदृष्टिकोणमा बदलाब ल्याउनेछ ।
(साउन अंकको मिरर न्यूज मासिकबाट)
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment